टोकियो, जापान ।
रसुवा, नुवाकोट र धादिगं जिल्लामा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा नेपालको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले जापानको एक सामाजिक संस्थाबाट महत्वपूर्ण आर्थिक सहयोग घोषणा भएको छ ।
जापानस्थित 公益財団法人 AEON 1% Club Foundation का अध्यक्ष हिरोयुकी वातानाबेले टोकियोस्थित नेपाली राजदूतावासमा पुगेर नेपालका बाढी–पहिरोपीडितका लागि ५० हजार अमेरिकी डलर करिव ७६ लाख नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
साथै, जापान रोजगार संघ विदेशी नागरिकहरू (JAEFN) बाट १० लाख येन र जापान-नेपाल विकास मञ्च बाट पनि १० लाख येन सहयोग प्राप्त भएको नेपाली राजदूतावासका कार्यबाहक राजदूत हरिहरकान्त पौड्यालले जानकारी दिनुभयो ।
नेपाली राजदूतावासले नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट AEON 1% Club Foundation का अध्यक्ष हिरोयुकी वातानाबे, JAEFN तथा Japan-Nepal Development Forum प्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
एओन १५ क्लब के हो ?
AEON 1% Club Foundation जापानको प्रमुख सामाजिक उत्तरदायित्व तथा परोपकारी संस्थामध्ये एक हो । यो संस्था सन् १९९० मा स्थापना भएको हो र AEON Group को सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ। संस्थाले AEON Group का प्रमुख कम्पनीहरूको करअघिको नाफाबाट १ प्रतिशत बराबरको रकम सामाजिक योगदानका विभिन्न कार्यक्रम सञ्चालन गर्न प्रयोग गर्ने अवधारणामा आधारित भएर काम गर्दै आएको छ ।
संस्थाको मुख्य उद्देश्य शिक्षा, खाद्य तथा वातावरणका क्षेत्रमा भावी पुस्ताको विकास गर्नुका साथै जापान र अन्य देशबीच मैत्रीपूर्ण सम्बन्ध तथा पारस्परिक समझदारी बढाउनु हो । यसको गतिविधि जापानमा मात्र सीमित नभई एसियाका विभिन्न देशसम्म फैलिएको छ।
AEON 1% Club ले मुख्य रूपमा बालबालिकाको स्वस्थ तथा समग्र विकास, विदेशी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध, स्थानीय समुदायको विकास र विपद् पुनःस्थापनालाई प्राथमिकता दिँदै आएको छ।
विशेषगरी प्राकृतिक विपद्का बेला प्रभावित समुदायले सकेसम्म छिटो सामान्य जीवनमा फर्कन सकून् भन्ने उद्देश्यले जापान तथा विदेशमा आपत्कालीन राहत तथा पुनर्निर्माण सहयोग उपलब्ध गराउने गरेको संस्थाले जनाएको छ।
संस्थाको आधिकारिक विवरणअनुसार, २०२५ आर्थिक वर्षमा मात्रै विपद् पुनःस्थापनाका लागि ४ करोड २५ लाख येन सहयोग गरिएको थियो भने हालसम्मको कुल सहयोग रकम करिब ३६ अर्ब येन पुगेको छ ।
यसपटक रसुवाको बाढी–पहिरोपछि AEON 1% Club ले घोषणा गरेको ५० हजार अमेरिकी डलरको सहयोग नेपालमा प्राकृतिक विपद्का कारण उत्पन्न मानवीय संकटप्रति जापानको संस्थागत ऐक्यबद्धताको महत्वपूर्ण उदाहरण बनेको छ।
नेपालमा राहत तथा पुनर्निर्माणका लागि जापानमा रहेका नेपाली समुदाय, विभिन्न संघसंस्था तथा जापानी संस्थाहरूबाट सहयोग जुटिरहेका बेला AEON 1% Club जस्तो ठूलो सामाजिक योगदान गर्ने संस्थाको सहयोगले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना प्रयासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाली राजदूतावासले पनि जापानबाट प्राप्त यस्तो सहयोगलाई नेपाल र जापानबीचको मानवीय सम्बन्ध, मित्रता र सहकार्यको प्रतीकका रूपमा लिएको छ ।