(Japan) 2 nd September | 2026 | Wednesday | 6:27:16 PM || (Nepal) 3:12:16 PM
 
 


जापानभरका १६,५०० फ्यामिलीमार्टमा नेपाल बाढीपीडितका लागि सहयोग रकम संकलन सुरु

  POSTED ON : Wednesday, 02 September, 2026 | Views : 196

जापानभरका १६,५०० फ्यामिलीमार्टमा नेपाल बाढीपीडितका लागि सहयोग रकम संकलन सुरु


टोकियो, जापान ।

फ्यामिलीमार्टले बुधबार, सेप्टेम्बर २ देखि सेप्टेम्बर १५, २०२६ सम्म दुई साताका लागि ‘ネパール大規模洪水災害支援金募金’ अर्थात् ‘नेपाल ठूलो बाढी विपद् सहायता रकम संकलन’ अभियान सञ्चालन गरेको हो । फ्यामिलीमार्टको आधिकारिक घोषणाअनुसार केही स्टोरमा अभियान सुरु हुने मिति फरक हुन सक्नेछ ।

अभियानअन्तर्गत जापानभरका करिब १६ हजार ५०० फ्यामिलीमार्ट स्टोरमा सहायता रकम संकलनका लागि Donation Box राखिनेछ । फ्यामिलीमार्टमा किनमेल गर्न जाने ग्राहक तथा नेपालप्रति सद्भाव राख्ने इच्छुक व्यक्तिले आफ्नो इच्छा अनुसार रकम सहयोग गर्न सक्नेछन् ।


फ्यामिलीमार्टका अनुसार संकलित रकम 認定NPO法人国連WFP協会 (UN WFP Association) र 公益社団法人セーブ・ザ・チルドレン・ジャパン (Save the Children Japan) मार्फत नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि प्रयोग गरिनेछ ।

फ्यामिलीमार्टले आफ्नो घोषणामा नेपालमा आएको विपद्प्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकप्रति समवेदना जनाएको छ । कम्पनीले आफ्ना स्टोरमा ठूलो संख्यामा नेपाली नागरिकहरू कर्मचारीका रूपमा कार्यरत रहेको उल्लेख गर्दै विपद्लाई अत्यन्तै पीडादायी रूपमा लिएको जनाएको छ ।

यद्यपि, ओकिनावा फ्यामिलीमार्टका केही व्यवस्थाहरू भने फरक छन् । त्यहाँ अभियानको सुरुवात मिति तथा सहयोग प्राप्त गर्ने संस्थामा भिन्न व्यवस्था गरिएको छ र सहयोग रकम Plan International Japanमार्फत प्रयोग गरिने फ्यामिलीमार्टले जनाएको छ ।

फ्यामिलीमार्टले विगतमा पनि जापान तथा विदेशमा भएका ठूला प्राकृतिक विपद्का समयमा आफ्ना स्टोरमार्फत सहायता रकम संकलन गर्दै आएको छ । कम्पनीले ठूलो विपद् हुँदा सामान्य स्टोर Donation अभियानलाई विपद् सहायता रकम संकलन अभियानमा रूपान्तरण गरी प्रभावित क्षेत्रलाई सहयोग गर्दै आएको जनाएको छ।

नेपालमा बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भइरहेका बेला जापानको फ्यामिलीमार्टजस्तो ठूलो व्यावसायिक संस्थाले सुरु गरेको यो अभियानले नेपालप्रति जापानी समाज तथा अन्तर्राष्ट्रिय समुदायको मानवीय ऐक्यबद्धता थप बलियो बनाउने अपेक्षा गरिएको छ।

जापानमा रहेका नेपाली तथा नेपालप्रति सद्भाव राख्ने जापानी नागरिकलगायत सबैलाई नजिकैको फ्यामिलीमार्ट स्टोरमा राखिएको सहायता बाकसमा आफ्नो क्षमताअनुसार सहयोग गर्न सकिनेछ ।