टोकियो, जापान ।
अमेरिकी डलरको तुलनामा जापानी येन साताको अन्तिम दिन शुक्रबार तीव्र रूपमा बलियो बनेपछि जापानको विदेशी मुद्रा बजारमा चासो बढेको छ । येनको उतारचढाव हेर्दा सरकारी मुद्रा बजार हस्तक्षेपजस्तै देखिए पनि जापान वा अमेरिकाले प्रत्यक्ष हस्तक्षेप गरेको सम्भावना कम रहेको विश्लेषकहरूले बताएका छन् ।
जापानका अन्तर्राष्ट्रिय मामिला हेर्ने उप–अर्थमन्त्री अत्सुशी मिमुराले येनको चालप्रति सरकार “उच्च सतर्क अवस्थामा रहेको” बताएका छन् ।
जापान रिसर्च इन्स्टिच्युटका अर्थशास्त्री सोइचिरो तातेइशीका अनुसार येनको मूल्यमा आएको समग्र परिवर्तनको आकार हेर्दा यो सरकारी हस्तक्षेपको समयमा देखिने उतारचढावसँग मिल्दोजुल्दो छ । तर, यसपटकको वृद्धिको गति भने परम्परागत हस्तक्षेपसँग मेल खाँदैन ।
उनले सरकारी मुद्रा हस्तक्षेप हुँदा सामान्यतया केही मिनेटमै येनमा ठूलो परिवर्तन आउने गरेको बताए । तर यसपटक येन क्रमशः बलियो हुँदै गएकोले प्रत्यक्ष हस्तक्षेप नभएको आफ्नो निष्कर्ष रहेको उनको भनाइ छ ।
यसले पछिल्लो समय येन बलियो हुनुको वास्तविक कारणबारे भने थप प्रश्न उठाएको छ । बजार सहभागीहरूले अमेरिकी डलरको चाल, ब्याजदरसम्बन्धी अपेक्षा तथा जापान र अमेरिकाबीचको मौद्रिक नीति लगायत विभिन्न पक्षले येनको मूल्यमा प्रभाव पारिरहेको हुनसक्ने बताएका छन् ।
जापानी अधिकारीहरूले भने विदेशी मुद्रा बजारमा अत्यधिक उतारचढाव देखिएमा आवश्यक कदम चाल्न सकिने संकेत दिँदै आएका छन् । येनको चाल आगामी दिनमा पनि जापानको अर्थतन्त्र र विदेशमा रहेका जापानी तथा नेपाली कामदारका लागि समेत महत्वपूर्ण विषय बन्ने देखिएको छ।
शुक्रबार साँझ जापानी बजारमा एक डलरको १५७ येनबाट घटेर १५६ येन आसपास आएको छ ।
यसैगरि जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका कम्पनीहरुले पनि बिहान एक लाख नेपाली रुपैयाँको लागि १० मान ५ हजार ५ सय येन आसपास बिनिमयदर तोकेकोमा साँझपख त्यसलाई परिमार्जन गर्दै १ लाख नेपाली रुपैयाँको लागि करिव १० मान ४ हजार ५ सय येन आसपास कायम गरेका छन् ।