(Japan) 4 th September | 2026 | Friday | 2:14:49 PM || (Nepal) 10:59:49 AM
 
 


जापानका विशेषज्ञ टोली पुग्दै, बाढी-पहिरोमा ज्यान गुमाएकाको पहिचानमा सहयोग गर्ने

  POSTED ON : Friday, 04 September, 2026 | Views : 154

जापानका विशेषज्ञ टोली पुग्दै, बाढी-पहिरोमा ज्यान गुमाएकाको पहिचानमा सहयोग गर्ने


टोकियो, जापान ।

नेपाल–चीन सीमा आसपास गत अगस्ट २६ मा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा जापानले शव पहिचान तथा उद्धारसम्बन्धी प्राविधिक सहयोग गर्ने भएको छ । नेपाल सरकारको अनुरोधपछि जापानले अन्तर्राष्ट्रिय आपत्कालीन सहायता टोलीअन्तर्गत विशेषज्ञ समूह नेपाल पठाउने निर्णय गरेको हो ।

जापानको विदेश मन्त्रालयका अनुसार सात सदस्यीय विशेषज्ञ टोली शुक्रबार, सेप्टेम्बर ४ अर्थात् आजै नेपाल पुग्ने तयारीमा छ । टोलीले बाढी तथा पहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि स्थानीय अधिकारीहरूलाई प्राविधिक सहयोग गर्नेछन् । जापान सरकारले सेप्टेम्बर ३ मा उक्त टोली पठाउने औपचारिक निर्णय गरेको थियो ।

सेप्टेम्बर ३ सम्मको नेपाल सरकारको तथ्यांक अनुसार रसुवा जिल्ला लगायत प्रभावित क्षेत्रमा १,२०४ जनाको मृत्यु, ४,२१६ जना बेपत्ता र करिब ३ लाख १० हजार मानिस प्रभावित भएका छन् । चीनको तिब्बततर्फ समेत ठूलो मानवीय क्षति भएको जापानको विदेश मन्त्रालयले जनाएको छ।


जापानको विशेषज्ञ टोलीमा को–को सहभागी छन् ?

विशेषज्ञ टोलीमा जापानको विदेश मन्त्रालय, राष्ट्रिय प्रहरी एजेन्सी, टोकियो महानगरीय प्रहरी विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका का प्रतिनिधिहरू सहभागी हुनेछन् ।

टोलीको मुख्य उद्देश्य विपद्मा ज्यान गुमाएकाहरूको पहिचान प्रक्रियामा नेपाली अधिकारीलाई सहयोग गर्नु रहेको छ । ठूलो संख्यामा मानिस बेपत्ता रहेको अवस्थामा शव पहिचान र परिवारसम्म जानकारी पुर्‍याउने कामलाई थप प्रभावकारी बनाउन जापानी विशेषज्ञताको प्रयोग गरिने अपेक्षा गरिएको छ ।


जापानले यसअघि नै पठाइसकेको थियो राहत सामग्री

विशेषज्ञ टोली पठाउने निर्णय जापानको नेपालप्रतिको पछिल्लो सहयोगको अर्को महत्वपूर्ण चरण हो। यसअघि नेपाल सरकारको अनुरोधपछि जाइकाले टेन्ट, कम्बल, प्लास्टिक सिट, सुत्ने म्याट र पानी राख्ने पोर्टेबल कन्टेनर लगायतका आपत्कालीन राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको थियो । ती सामग्री जाइकाको सिंगापुरस्थित गोदामबाट नेपाल पठाउने व्यवस्था गरिएको थियो ।

त्यसपछि जापानले राहत सामग्री नेपालमा पुर्‍याउने प्रक्रिया अघि बढाएको जाइकाले जनाएको छ । जापानको अन्तर्राष्ट्रिय आपत्कालीन सहायता संयन्त्रमार्फत विपद्पछि तत्काल आवश्यक पर्ने आधारभूत सामग्री उपलब्ध गराइएको हो ।


स्वास्थ्य र चिकित्सा आवश्यकताको पनि मूल्याङ्कन

बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा चिकित्सा आवश्यकताको मूल्याङ्कनका लागि जाइकाको अर्को टोलीले समेत काम अघि बढाएको छ। यसले प्रभावित क्षेत्रको स्वास्थ्य अवस्था तथा तत्काल आवश्यक पर्ने चिकित्सा सहयोग पहिचान गर्न योगदान पुर्‍याउनेछ ।

यससँगै जापानको सहयोग केवल राहत सामग्रीमा सीमित नरही चिकित्सा आवश्यकता, शव पहिचान तथा प्राविधिक सहायता सम्म विस्तार भएको देखिएको छ।

सेप्टेम्बर १ मा जापानी प्रधानमन्त्री साने ताकाइची र नेपाली प्रधानमन्त्री बालेन्द्र शाहबीच टेलिफोन वार्ता भएको थियो।

वार्तामा प्रधानमन्त्री ताकाइचीले बाढी तथा पहिरोमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै नेपालप्रति जापानको ऐक्यबद्धता रहेको बताएकी थिइन्। उनले राहत सामग्रीसहित थप सहयोगका लागि जापानले तयारी गरिरहेको र आवश्यक परे जापान डिजास्टर रिलिफ टोली पठाउने बताएकी थिइन्।

विशेषगरी नेपालमा बेपत्ता रहेका पाँच जापानी नागरिकको खोजी तथा उद्धारमा नेपाल सरकारसँग पूर्ण समन्वय गर्न जापानले आग्रह गरेको थियो।

यसअघि अगस्ट ३१ मा जापानी विदेशमन्त्री तोशिमिचु मोतेगी र नेपाली विदेशमन्त्री शिशिर खनालबीच पनि टेलिफोन वार्ता भएको थियो। सो क्रममा मोतेगीले जापानले नेपाललाई आवश्यक सबै सहयोग उपलब्ध गराउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल र जापानबीचको दशकौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध विपद्को यस कठिन घडीमा मानवीय सहयोगमार्फत थप बलियो बनेको देखिएको छ।