टोकियो, जापान ।
जापानका राजकुमार हिसाहितो आइतबार २० वर्ष पुगेका छन् । उनी युवराज अकिशिनो र युवराज्ञी किकोका जेठा छोरा हुन् ।
इम्पेरियल हाउसहोल्ड एजेन्सीका अनुसार राजकुमार हिसाहितो हाल त्सुकुबा विश्वविद्यालयमा दोस्रो वर्ष अध्ययनरत छन् । बितेको एक वर्ष उनी राम्रो स्वास्थ्यमा रहेको पनि एजेन्सीले जनाएको छ।
उनले मुख्य रूपमा जीवविज्ञान अध्ययन गरिरहेका छन् । कक्षा र प्रयोगशालामार्फत थप विशेष विषयहरूको अध्ययन समेत गर्दै आएका छन् । अनुसन्धान सम्बन्धी सामग्री तथा शोधपत्र पढ्न आवश्यक पर्ने अंग्रेजी भाषाका साथै शारीरिक शिक्षाजस्ता अनिवार्य विषय पनि उनको अध्ययनमा समावेश छन् ।
शाही परिवारका गतिविधिमा पनि सक्रिय
अध्ययनलाई प्राथमिकता दिँदै राजकुमार हिसाहितोले शाही परिवारका सदस्यका रूपमा विभिन्न सार्वजनिक तथा औपचारिक कार्यक्रममा समेत सहभागिता बढाउँदै आएका छन् ।
गत जनवरीमा उनले पहिलो पटक जापानको वार्षिक नयाँ वर्ष कविता वाचन समारोहमा भाग लिएका थिए । बाल्यकालदेखि नै रुचि राख्दै आएका ड्रागनफ्लाई (भिङ्ग्रेकीरा) लाई नजिकबाट नियाल्दाको आनन्दबारे उनले कविता लेखेका थिए ।
त्यसैगरी, गत मे महिनामा जापानको राजकीय भ्रमणमा आएका फिलिपिन्सका राष्ट्रपति र उनकी पत्नीको सम्मानमा आयोजित शाही भोजमा उनले पहिलो पटक सहभागिता जनाएका थिए ।
गत अगस्टमा हिरोशिमा प्रान्तमा आयोजित जापानकै ठूलो ब्वाय स्काउट प्रशिक्षण शिविरमा पनि उनले सहभागिता जनाएका थिए । सो अवसरमा राजकुमार हिसाहितोले आफ्नो पहिलो सार्वजनिक भाषण दिएका थिए ।
राजकुमार हिसाहितो जापानी शाही परिवारको आगामी पुस्ताका महत्वपूर्ण सदस्यका रूपमा हेरिन्छन् । राजकुमार हिसाहितोको सन् २००६ सेप्टेम्बर ६ तारिख जन्म भएको थियो ।