(Japan) 27 th August | 2026 | Thursday | 5:09:24 PM || (Nepal) 1:54:24 PM
 
 


नेपालमा आएको विनाशकारी बाढीप्रति जापानी प्रधानमन्त्री ताकाइचीद्वारा दुःख व्यक्त

  POSTED ON : Thursday, 27 August, 2026 | Views : 148

नेपालमा आएको विनाशकारी बाढीप्रति जापानी प्रधानमन्त्री ताकाइचीद्वारा दुःख व्यक्त


टोकियो, जापान ।

नेपाल र चीनको सीमा आसपासमा आएको ठूलो बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति जापानका प्रधानमन्त्री ताकाइची सानाएले गहिरो दुःख व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री ताकाइचीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको सन्देशमा नेपाल र चीनको सीमा क्षेत्र आसपासमा ठूलो बाढी आएको र चीनमा समेत ठूलो क्षति पुगेकोप्रति आफू अत्यन्त दुःखी भएको उल्लेख गरेकी छन् ।

उनले बाढी तथा विपद्मा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् । साथै, विपद्बाट प्रभावित तथा क्षति बेहोरेका सबैप्रति हार्दिक सहानुभूति प्रकट गरेकी छन् ।

नेपालको मध्य क्षेत्र रसुवा, नुवाकोट, धादिगं लगायत जिल्लामा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विवरण अनुसार बाढीपछि १ हजार ३०० भन्दा बढी मानिस सम्पर्कविहीन रहेको र विदेशी नागरिकसमेत प्रभावित भएको बताइएको छ। जापानी दूतावासले नेपालमा भ्रमणमा रहेका पाँच जना जापानी नागरिकसँग सम्पर्क हुन नसकेको जानकारी दिएको छ।

यस घटनालाई लिएर जापान सरकारले पनि प्रभावित जापानी नागरिकको अवस्थाबारे जानकारी संकलन तथा आवश्यक सहयोगका लागि संयन्त्र सक्रिय बनाएको छ । जापानी सरकारका अधिकारीहरूले नेपालमा रहेका आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक समन्वय गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री ताकाइचीको समवेदना सन्देशले नेपालमा आएको प्राकृतिक विपद्प्रति जापानको उच्च तहबाट समेत चासो र सहानुभूति व्यक्त भएको देखाएको छ । विपद्को यस कठिन घडीमा नेपालमा रहेका पीडित परिवार तथा प्रभावित समुदायप्रति अन्तर्राष्ट्रिय समुदायबाट सहयोग र ऐक्यबद्धताको आवश्यकता अझ बढेको छ ।

जापानी प्रधानमन्त्री ताकाईचीले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी छन्

नेपाल र चीनको सिमानामा आएको ठूलो मात्रामा बाढीले चीनमा पनि ठूलो क्षति पुर्‍याएकोमा म अत्यन्तै दुःखी छु ।

ज्यान गुमाउनेहरूप्रति म गहिरो समवेदना प्रकट गर्दछु र उनीहरूका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।

म विपद्बाट प्रभावित सबैप्रति हार्दिक समवेदना पनि व्यक्त गर्दछु।

この度、ネパールと中国の国境付近で大規模洪水が発生し、中国にも大きな被害が生じていることに、大変心を痛めています。
犠牲になられた方々に哀悼の意を表すとともに、御遺族に対し謹んでお悔やみ申し上げます。
また、被害に遭われた方々に対しても、心からお見舞い申し上げます。