टोकियो, जापान ।
रसुवा जिल्लास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिगं जिल्लामा ठूलो जनधनको क्षति भएपछि NPO法人 नेपाल तामाङ समाज जापानले बाढीपीडित तथा प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपाल तामाङ समाज जापानले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, समाजको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो। समाजले प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवार तथा प्रभावित नागरिकप्रति गहिरो समवेदना प्रकट गरेको छ।
समाजले विपत्तिका कारण प्रभावित तथा विस्थापित सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभ, राहत र पुनर्स्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गरेको छ।
प्रेस विज्ञप्तिमा भनिएको छ, प्राकृतिक विपत्तिको अवस्थामा मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न उपयुक्त नहुने ठहर गर्दै समाजले टोकियोमा आयोजना गर्ने तयारी गरिएको ‘डम्फुसेलो हेन्देमाया तथा सांस्कृतिक साँझ–२०२६’ कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।
समाजले विपत्तिको कठिन परिस्थितिमा पीडित तथा प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ। साथै जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई आ–आफ्नो स्थानबाट पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग र ऐक्यबद्धता जनाउन अपिल गरेको छ।
नेपाल तामाङ समाज जापानले प्राकृतिक विपत्तिको सामना गरिरहेका मातृभूमि नेपाल तथा पीडित नागरिकप्रति निरन्तर साथ, सहयोग र ऐक्यबद्धता रहने जनाएको छ।
समाजको प्रेस विज्ञप्तिमा अध्यक्ष गिर बहादुर तामाङ घिसिङ र महासचिव देवेन तामाङ योञ्जनको हस्ताक्षर रहेको छ।