टोकियो, जापान ।
जापानको साइतामा प्रान्त अन्तर्गत कोउनोसु सिटीमा आफ्नै श्रीमतीको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ नेपाली पुरुषले आँशिक रुपमा आरोप स्विकार गरेका छन् ।
कोउनोसु प्रहरीले ३३ वर्षीय नेपाली नागरिक न्यौपाने गणेशलाई हत्याको गम्भीर आरोपमा पक्राउ गरी हिरासतमा लिएको छ ।
प्रहरीका अनुसार गत जुन २१ तारिखका दिन कोउनोसु सिटी हिगासीस्थित एक अपार्टमेन्टमा यो दुःखद घटना घटेको हो ।
उक्त अपार्टमेन्टमा सँगै बस्दै आएकी गणेशकी श्रीमती ३६ वर्षीया न्यौपाने रूपा कुमारी टाउकोबाट अत्यधिक रगत बगिरहेको अवस्थामा फेला परेकी थिइन् ।
उनलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए ।
मृतक रूपाको पोस्टमार्टम र प्रारम्भिक जाँचका क्रममा उनको टाउको, अनुहार र छातीमा कुनै भारी हतियार (iron rod) ले प्रहार गरिएका दर्जनौँ गम्भीर चोटहरू फेला परेका छन् ।
घटनाको दिन आरोपी गणेश आफैँ रगत लतपतिएको फलामे डन्डी बोकेर अत्तालिँदै कोउनोसु पुलिस स्टेशन पुगेका थिए ।
उनको यस्तो अवस्था देखेपछि प्रहरी टोली तुरुन्तै घटनास्थल पुग्दा रूपा रगताम्मे अवस्थामा ढलेकी फेला परेकी थिइन् ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा आरोपी गणेशले आफ्नो अपराध स्वीकार गरे पनि हत्याको नियतलाई भने आंशिक रूपमा अस्वीकार गरिरहेका छन्।
उनले प्रहरी समक्ष बयान दिँदै भनेका छन् "श्रीमतीले मलाई गिज्याएर हाँसेको मन नपरेकाले मैले आक्रमण गरेको हुँ । तर, मैले श्रीमतीलाई कुटेको मात्र हो, उनको मृत्यु नै भइसकेको बारे मलाई थाहा थिएन ।"
हाल जापानी प्रहरीले यस दर्दनाक घटनाको भित्री कारण र परिस्थितिबारे थप कडा र विस्तृत अनुसन्धान अगाडि बढाइरहेको छ ।(स्रोत: टेलितामा न्यूज/एनएचके)