टोकियो, जापान ।
नारिता र हानेदा बिमानस्थललाई सिधा जोड्ने नयाँ रेल सेवा संचालनमा आउने भएको छ ।
जापानको केइसेई इलेक्ट्रिक रेलवेले टोकियोको हानेदा विमानस्थल र चिबा प्रिफेक्चरस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थललाई सिधै जोड्ने नयाँ लिमिटेड एक्सप्रेस रेल सेवा सन् २०३० को दशकमा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको हो ।
यो योजना सोमबार जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले नारिता विमानस्थलसम्बन्धी विषयमा आयोजना गरेको बैठकमा प्रस्तुत गरिएको हो ।
केइसेईका अनुसार नयाँ रेल सेवाले टोकियो महानगर क्षेत्रका दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलबीच यात्रा गर्ने यात्रुका लागि सुविधा बढाउनेछ । साथै, नारिता विमानस्थल विस्तार परियोजना र जापान भ्रमण गर्ने विदेशी पर्यटकको बढ्दो सङ्ख्यालाई ध्यानमा राख्दै रेल सेवाको क्षमता पनि विस्तार गरिनेछ ।
कम्पनीले आर्थिक वर्ष २०२८ देखि नारिता विमानस्थल–ओशिआगे स्टेशन बीच नयाँ लिमिटेड एक्सप्रेस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । यसमध्ये दैनिक करिब तीनवटा रेल तोएई आसाकुसा सबवे लाइन हुँदै केइक्यु एयरपोर्ट लाइनमा प्रवेश गरी हानेदा र नारिता विमानस्थललाई सिधै जोड्नेछन् ।
हाल सञ्चालनमा रहेको एक्सप्रेस रेल सेवाले अतिरिक्त शुल्क बिना करिब १०० मिनेटमा दुई विमानस्थललाई जोड्छ । नयाँ लिमिटेड एक्सप्रेस सेवामा भने अतिरिक्त भाडा लाग्ने भए पनि यात्रा समय अहिलेको भन्दा छोटो हुने अपेक्षा गरिएको छ । नयाँ सेवा सुरु भएपछि पनि हालको एक्सप्रेस सेवा भने यथावत् सञ्चालनमा रहनेछ ।
हाल नारिता विमानस्थलमा तेस्रो रनवे निर्माण सहित विमानस्थलको क्षमता विस्तार गर्ने परियोजना अघि बढिरहेको छ । विस्तार सम्पन्न भएपछि वार्षिक उडान तथा अवतरण क्षमता हालको ३ लाख ४० हजारबाट बढेर ५ लाख पुग्नेछ । साथै, वार्षिक यात्रु सङ्ख्या पनि आर्थिक वर्ष २०२४ को ४ करोड ७ लाख ७० हजारबाट बढेर ७ करोड ५० लाख पुग्ने अनुमान गरिएको छ ।