(Japan) 7 th July | 2026 | Tuesday | 6:53:12 PM || (Nepal) 3:38:12 PM
 
 

FNJ Global Media Conference Japan 2026 का लागि नेपाल पत्रकार महासंघका ३३ प्रतिनिधिको भिसा स्वीकृत

  POSTED ON : Tuesday, 07 July, 2026 | Views : 158

FNJ Global Media Conference Japan 2026 का लागि नेपाल पत्रकार महासंघका ३३ प्रतिनिधिको भिसा स्वीकृत


टोकियो, जापान ।

यही २५ जुलाई २०२६ (शनिबार) जापानको टोकियोस्थित सेन्ट लुक्स गार्डेन टावर (St. Luke's Garden Tower) मा आयोजना हुने FNJ Global Media Conference Japan 2026 का लागि नेपाल पत्रकार महासंघ (FNJ) केन्द्रीय कार्यसमितिका ३३ जना प्रतिनिधिहरूको भिसा स्वीकृत भएको नेपाल पत्रकार महासंघ जापान शाखाले जनाएको छ ।

नेपाल पत्रकार महासंघ जापान शाखाद्वारा आयोजित यस अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सहित विश्वका विभिन्न मुलुकबाट नेपाली पत्रकार, सञ्चारकर्मी, मिडिया सञ्चालक तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।

आयोजक नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठका अनुसार, वैदेशिक शाखाहरूबाट सहभागी हुने प्रतिनिधिहरूको भिसा प्रक्रिया पनि तीव्र रूपमा अघि बढिरहेको छ । केही शाखाका प्रतिनिधिहरूले भिसा स्वीकृति प्राप्त गरिसकेका छन् भने बाँकीको प्रक्रिया सम्बन्धित देशहरूमा जारी रहेको जानकारी दिइएको छ ।

सम्मेलनले नेपाल र विश्वभर रहेका नेपाली पत्रकारबीच व्यावसायिक सहकार्य, अनुभव आदान–प्रदान, डिजिटल पत्रकारिताको विकास, अन्तर्राष्ट्रिय नेटवर्क विस्तार तथा पत्रकारिताको विश्वसनीयता अभिवृद्धि जस्ता विषयमा महत्वपूर्ण छलफल गर्ने लक्ष्य राखेको छ ।

नेपाल पत्रकार महासंघ जापान शाखाले यो सम्मेलनलाई नेपाली पत्रकारिताको इतिहासमा एक महत्वपूर्ण अन्तर्राष्ट्रिय जमघटका रूपमा लिँदै जापानमा रहेका महासंघसँग आबद्ध सम्पूर्ण अग्रज पत्रकार, सदस्य तथा सञ्चारकर्मीहरूलाई कार्यक्रममा अनिवार्य रूपमा सहभागी भई सम्मेलनलाई सफल बनाउन आग्रह गरेको छ ।

आयोजकले सम्मेलनमा सहभागी हुन इच्छुक पत्रकारहरूलाई आजैदेखि आफ्नो समय व्यवस्थापन गरी उपस्थिति सुनिश्चित गर्न अनुरोध गरेको छ । सम्मेलनले विश्वभर छरिएर रहेका नेपाली सञ्चारकर्मीहरूबीच एकता, सहकार्य र साझा दृष्टिकोण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।