टोकियो, जापान ।
बेलायतका स्वास्थ्य अधिकारीहरुले प्रारम्भिक रुपमा गरिएको अनुसन्धानबाट 'बूस्टर' खोप लगाएका व्यक्तिमा 'ओमिक्रोन स्ट्रेन' भाइरस बिरुद्ध ७० देखि ७५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताएका छन् ।
स्वास्थ्य सुरक्षा एजेन्सीले शुक्रबार आफ्नो अध्ययनको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै ओमिक्रोन कोरोना भाइरसबाट संक्रमित ५८१ व्यक्तिमा यस्तो अध्ययन गरिएको बताएको छ । सहभागी मध्ये केहीले दुवै मात्रा कोरोना खोप लगाएको र अन्यले 'बूस्टर' खोप पनि लगाएका थिए ।
नतिजा अनुसार केवल दुई मात्रा खोप लगाएका व्यक्तिमा 'डेल्टा' प्रकारको तुलनामा ओमिक्रोनको भाइरस बिरुद्ध कम सुरक्षित पाईएको छ । तर 'बूस्टर' खोप लिएका ७० देखि ७५ प्रतिशत व्यक्तिमा ओमिक्रोन भाइरसको कुनैपनि लक्षण देखा परेको छैन ।
'एजेन्सी'ले यो प्रारम्भिक नतिजा भएकाले 'बूस्टर' खोप लगाएकाहरुले पनि ओमिक्रोन बिरुद्ध उस्तै सावधानि अपनाउनुपर्नेमा सचेत गराएको छ । एजेन्सीका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको नयाँ प्रकार बिरुद्ध 'बूस्टर' खोप प्रभावकारी हुने भएपनि यसको विस्तृत जानकारी थप अनुसन्धानपछि मात्र भन्न सकिने बताएका छन् ।