(Japan) 13 th September | 2025 | Saturday | 7:03:06 AM || (Nepal) 3:48:06 AM
 
 

स्वस्थ रहन र विभिन्न रोगबाट बच्न दैनिक १०,००० पाइला हिँड्नुस्

  POSTED ON : Saturday, 28 June, 2025 | Views : 492

स्वस्थ रहन र विभिन्न रोगबाट बच्न दैनिक १०,००० पाइला हिँड्नुस्


टोकियो, जापान ।

तपाईं दैनिक कति हिँड्नु हुन्छ ? सामान्य त औषत आधा घण्टा वा आसपास हिँड्ने गरेपनि कति पाइला हिँड्नुहुन्छ भन्ने सायद तपाईंलाई याद नहुन सक्छ । तर सामान्य हिँडाईमा ३० मिनेट मात्र हिँड्नु भनेको करिव ५ हजार पाइला मात्र हुन्छ । अर्थात् तपाईंले दश हजार पाइला हिँड्न कम्तिमा १ घण्टा हिँड्नै पर्ने हुन्छ ।

यसको अर्थ हो स्वस्थ र निरोगी भई विभिन्न रोगबाट बच्न तपाईं दैनिक कम्तिमा एक घण्टा अथवा भनौं १०,००० पाइला हिँड्नु स्वास्थ्यको लागि अति उत्तम छ ।

यसैलाई मध्यनजर गर्दै जापानीहरुले सुरु गरेको दैनिक १०,००० पाइला अभियानले थप गति लिन थालेको छ ।

स्वास्थ्यका लागि दैनिक १०,००० पाइला हिँड्नुपर्ने धारणाको विकास सन् १९६४ मा टोकियो ओलम्पिकअघि जापानमा यो अभियान सुरु भएको थियो ।

यो अवधारणा कुनै वैज्ञानिक अनुसन्धानबाट नभई, यामासा तोकेई केइकी नामक जापानी घडी निर्माताले 'मानपोकेई'  (१०,००० पाइला नाप्ने यन्त्र) नामक पेडोमिटरको बजारीकरण रणनीतिअन्तर्गत सुरु गरेका थिए ।

तर यसको बैज्ञानिक पुष्टि पछि हाल दैनिक १०,००० पाइला हिँड्दा डिमेन्सिया, क्यान्सर र मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुने पाइएपछि यसको अनुसरण गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि हुन थालेको छ ।

दैनिक हिँडाईको महत्वलाई उजागर गर्दै स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने यो अभियानमा जापानीहरु आवद्ध हुने क्रम बढेको बताइन्छ । 

दैनिक हिँडाइले धेरै स्वास्थ्य लाभहरू प्रदान गर्दछ, जसले शारीरिक र मानसिक दुवै स्वास्थ्यलाई असर गर्छ । सामान्य स्वास्थ्यको लागि, प्रति दिन कम्तिमा ७,५०० पाइला चाल्ने लक्ष्य राख्नाले अस्वाभाविक मृत्युदरको जोखिम घट्ने, मुटु सम्बन्धी समस्याहरू कम गर्न र रक्तचाप, तौल, मानसिक स्वास्थ्य र मानसिक क्षमताहरूमा सुधार गर्न सकिने वैज्ञानिकहरु बताउँछन् ।

तपाईं पनि दैनिक हिँड्न अल्छि नगरी कम्तिमा दिनको एक घण्टा हिँड्ने प्रयास गर्नुहोला है । तर गर्मि बढेको बेलामा पानी र झोलिलो पदार्थ चाहिँ पर्याप्त पिउनुहोला ।