(Japan) 29 th June | 2026 | Monday | 12:26:12 PM || (Nepal) 9:11:12 AM
 
 

जापानमा सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण परीक्षण सुरु गरिंदै, सफल भए मिर्गौला खराबीकै कारण ज्यान नजाने

  POSTED ON : Monday, 29 June, 2026 | Views : 170

जापानमा सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण परीक्षण सुरु गरिंदै, सफल भए मिर्गौला खराबीकै कारण ज्यान नजाने


टोकियो, जापान ।

जापानमा गम्भीर मिर्गौला रोगबाट पीडित बिरामीका लागि नयाँ आशा जगाउने गरी सुँगुरको मिर्गौला मानवमा प्रत्यारोपण गर्ने क्लिनिकल परीक्षण सुरु हुने भएको छ ।

जापानी स्टार्टअप कम्पनी र अमेरिकी जैविक प्रविधि (बायोटेक) कम्पनीको संयुक्त अनुसन्धान समूहले सन् २०२८ देखि जापानमा व्यावहारिक परीक्षण सुरु गर्ने योजना सार्वजनिक गरेको हो ।

अनुसन्धान टोलीले मानव शरीरमा प्रत्यारोपण गर्दा अस्वीकार ९च्भवभअतष्यल० हुने सम्भावना कम गर्न आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रयोग गर्ने जनाएको छ । परीक्षणको मुख्य उद्देश्य प्रत्यारोपणको सुरक्षा र प्रभावकारिता पुष्टि गर्नु रहेको बताइएको छ ।

क्लिनिकल परीक्षण जापानका दुई प्रमुख स्वास्थ्य संस्था होक्काइदो विश्वविद्यालय अस्पताल र शोनान कामाकुरा जनरल अस्पतालमा सञ्चालन गरिनेछ 

यस परियोजनामा सहभागी अमेरिकी कम्पनीले यसअघि अमेरिकामा परीक्षणका रूपमा सुँगुरको मिर्गौला मानवमा प्रत्यारोपण गरिसकेको अनुभव रहेको जनाएको छ । कम्पनीका अनुसार प्रत्यारोपण गरिएका केही बिरामीले छ महिनाभन्दा बढी समयसम्म डायलाइसिस गर्न नपरेको नतिजा प्राप्त भएको छ ।


जापानमा हुने परीक्षणमा शल्यचिकित्सकको भूमिका निभाउने होत्ता कियोहिको ले यो परियोजनाले भविष्यमा जापानमा रहेको मिर्गौला प्रत्यारोपणका लागि करिब १५ वर्ष लामो प्रतीक्षा सूचीको समस्या समाधान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।


यसैबीच, जापानकै अर्को अनुसन्धान समूहले पनि गम्भीर जन्मजात मिर्गौला समस्याबाट पीडित भ्रूणमा सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने सम्भावनाबारे अध्ययन अघि बढाइरहेको छ । उक्त टोलीमा जिकेइ विश्वविद्यालय चिकित्सा संकाय र राष्ट्रिय बाल स्वास्थ्य तथा विकास केन्द्र का अनुसन्धानकर्ताहरू सहभागी छन् ।

यदि यी परीक्षणहरू सफल भए भने, मानव अंगको अभावका कारण वर्षौंसम्म प्रत्यारोपणको प्रतीक्षामा रहेका विश्वभरका दशौं लाख बिरामीका लागि यो चिकित्सा क्षेत्रमा ऐतिहासिक उपलब्धि सावित हुन सक्ने अपेक्षा गरिएको छ । यस्ता मिर्गौला पिडितको संख्या जापानभित्रै समेत हजारौं रहेको बताइएको छ ।