टोकियो, जापान ।
जापान सरकारले ६५ वर्ष वा सोभन्दा माथिका उच्च आम्दानी भएका ज्येष्ठ नागरिकको नर्सिङ केयर बीमा शुल्क बढाउने योजनाबारे छलफल सुरु गरेको छ । यो व्यवस्था सन् २०२७ आर्थिक वर्षदेखि लागू गर्ने प्रस्ताव गरिएको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले शुक्रबार सामाजिक सुरक्षा परिषद् अन्तर्गतको उपसमितिमा उक्त प्रस्ताव प्रस्तुत गरेको हो । पछिल्लो समय सार्वजनिक पेन्सन रकम बढ्दा कम आम्दानी भएका ज्येष्ठ नागरिक समेत उच्च दरको नर्सिङ केयर बीमा शुल्क तिर्नुपर्ने अवस्था आएपछि शुल्क संरचना पुनरावलोकन गर्न लागिएको हो ।
६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिको नर्सिङ केयर बीमा शुल्क स्थानीय सरकारले तोकेको आधार रकम र व्यक्तिको आम्दानी अनुसार निर्धारण हुने गर्छ । सन् २०२४ देखि २०२६ आर्थिक वर्षसम्म जापानभरको औसत आधार शुल्क प्रति महिना ६,२२५ येन रहेको छ ।
हाल आम्दानी अनुसार १३ वटा शुल्क दर कायम छन् । ती दर ०.२८५ देखि २.४ गुणासम्म छन् । कम आम्दानी भएकालाई कम दर लागू हुन्छ ।
नयाँ प्रस्ताव अनुसार वार्षिक ७२ लाख येन वा सोभन्दा बढी आम्दानी भएका व्यक्तिमा लागू हुने सबैभन्दा उच्च दर बढाउने योजना छ । साथै, कम आम्दानी भएका समूहलाई थप साना श्रेणीमा विभाजन गरी आम्दानीको सीमाना पार गर्दा बीमा शुल्कमा एकैपटक ठूलो वृद्धि हुने अवस्था कम गर्ने तयारी गरिएको छ ।
सरकारको सामाजिक सुरक्षा परिषद्को उपसमितिले यस विषयमा थप छलफल गरी यस वर्षको अन्त्यसम्म निर्णय गर्ने अपेक्षा गरिएको छ ।