टोकियो, जापान ।
टोकियो महानगर सरकारले कोरोना भाइरसको नयाँ भ्यारिएन्ट ओमिक्रोन पहिचान गर्ने प्रोप्राइटरी पीसीआर परीक्षण प्रणाली शुरु गरेको छ । टोकियो महानगर जनस्वास्थ्य संस्थाले विकास गरेको यो प्रणाली शुक्रबारदेखि प्रयोग गर्न तयार बनाइएको हो ।
अघिल्ला परीक्षणहरुले भाइरसको अन्य प्रकारबाट नयाँ भ्यारिएन्टलाई छुट्टयाउन सकेको थिएन । नयाँ पीसीआर परीक्षण प्रणालीको शुरुआत ओमिक्रोन भ्यारिएन्टको प्रसार रोक्न आकस्मिक रुपमा शुक्रबार टोकियो गभर्नर युरिको कोइकेले एक पत्रकार सम्मेलनमा गरेका घोषणहरुमध्ये पर्दछ ।
‘हामीहरुले निकटबाट सामूदायिक संक्रमण अवस्थाको निगरानी गर्नेछौं र प्रतिक्रिया गर्नेछौं,’ कोइकेले भनिन् । महानगर सरकारले पूर्व प्रयोग गरिसकेका उपायहरुको पालना गर्न पूर्ण स्तरमा प्रयास गर्ने पनि उनले बताइन् ।
टोकियो सरकारले होटल र बसोबास स्थलमा कोरोना भाइरस संक्रमितको लागि भनेर छुट्याइएको कोठाको संख्या पनि करीब १ हजार ७५० बाट बढाएर ३ हजार ४०० मा पुर्याउँदैछ ।
जापानमा ओमिक्रोन भ्यारिएन्टको संक्रमण दुई जनामा पूष्टि भएको छ । टोकियोमा दुई बिरामीसँग ८५ जना निकट सम्पर्कमा आएको पाइएको छ । ६१ जना महानगर सरकारले सुरक्षित गरेको बसोबास केन्द्रमा बस्न थालिसकेको बताइएको छ ।