(Japan) 25 th June | 2026 | Thursday | 9:32:03 AM || (Nepal) 6:17:03 AM
 
 

विदेशीहरुलाई मेडिकल खर्चमा सहयोग गर्न सरकारसँग आग्रह

  POSTED ON : Wednesday, 01 December, 2021 | Views : 3604

विदेशीहरुलाई मेडिकल खर्चमा सहयोग गर्न सरकारसँग आग्रह


टोकियो, जापान ।

जापानमा रहेको स्वास्थ्य संस्थाहरुको एक समूहले सरकारसँग स्वास्थ्य उपचार खर्च तिर्न नसक्ने विदेशीहरुलाई टेवा दिन स्वास्थ्य बीमा प्रणालीमा सुधार ल्याउन अनुरोध गरेको छ । जापान फेडरेशन अफ डेमोक्रेटिक मेडिकल इन्ष्टिच्यूशन्सले स्वास्थ र न्याय मन्त्रालयलाई उक्त अनुरोधसँग सम्बन्धित कागजपत्र पेश गरेको छ । सो समूहले सोमबार टोकियोमा पत्रकार सम्मेलनको आयोजना पनि गरेको थियो ।

जापानमा आवासीय हैसियतको म्याद सकिन थालेको तीन महीना भन्दा कम समय भएको र शरणार्थी शिविरमा शरण खोजिरहेको व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रमहरुमा सहभागी हुने अनुमति छैन । उनीहरुले स्वास्थ्य उपचारबापतको पूरा खर्च आफैंले तिर्नु पर्छ । यसको लागत निकै महँगो पर्दछ । यी मध्ये केही मानिसहरुले बिरामी पर्दा उपचार गराउनै छोडेको फेडरेशनको भनाइ छ ।

समूहले सरकारसँग त्यस्ता मानिसहरुलाई उपचार खर्चमा मद्दत गरिदिन अनुरोध गरेको छ । कयौं विदेशीहरुले कुनै पनि स्वास्थ्य बीमा योजनामा सहभागी हनु नसकेको अनि बिरामी पर्दा उपचार नपाएको उक्त पत्रकार सम्मेलनमा सहभागी हुन आएका जापानमा शरणार्थीको हैसियत खोजिरहेका एक इरानीले बताए ।

यो जीवन मरणको सवाल भएको भन्दै उनले बीमा प्रणालीमा परिवर्तन गर्नु पर्ने आवश्यकता रहेको औंल्याएका थिए । सरकारले पनि तत्कालै एउटा प्रणाली बनाएर त्यस्ता विदेशीहरुको उपचार शुल्क भुक्तानीमा मद्दत गर्नु पर्ने फेडरेशनका वरिष्ठ अधिकारी किशिमोतो केइसुकेको भनाइ छ । यो अनुरोधबारे आफूहरुले छानबिन गर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ ।