(Japan) 26 th June | 2026 | Friday | 11:19:56 AM || (Nepal) 8:04:56 AM
 
 

क्यान्सर भएपनि ५९ प्रतिशत जापानी १० वर्ष बाँच्छन्

  POSTED ON : Saturday, 13 November, 2021 | Views : 3092

क्यान्सर भएपनि ५९ प्रतिशत जापानी १० वर्ष बाँच्छन्


टोकियो, जापान ।

जापानमा क्यान्सर भएर १० वर्ष बाँच्ने बिरामीको संख्या निरन्तर बढिरहेको छ । नोभेम्बर १० मा टोकियोको चुओ वडामा रहेको राष्ट्रिय क्यान्सर केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २००५ देखि सन् २००८ को बीचमा यो दर ५८ दशमलव ९ प्रतिशत रहेको छ ।

देशभरमा प्रिफेक्चरल क्यान्सर सेन्टर समेत ३२ अस्पतालमा क्यान्सरकार १५ देखि ९४ वर्षबीचका १ लाख २० हजार ६४९ बिरामी उपचाररत रहेको तथ्यांकले देखाएको छ । यी ३२ ओटै संस्था जापान एशोसियशन अफ क्लिनिकल क्यान्सर सेन्टर्सका सदस्यहरु हुन् ।

सन् २०१६ मा पहिलो पटक क्यान्सर भएर बाँचेकाहरुसम्बन्धी तथ्यांक सार्वजनिक गर्न थालिएको थियो । त्यसयता निरन्तर यो दर बढिरहेको छ । यसमा क्यान्सर बाहेक अन्य कारणले मर्ने क्यान्सरका बिरामीको संख्या समावेश गरिएको छैन ।

यस वर्षको तथ्यांकमा गत वर्षको तुलनामा थप ११ ओटा क्यान्सर उपचार गर्ने संस्थाहरु थपिएको छ । प्रोस्टेट क्यान्सरका बिरामीमा सबैभन्दा धेरै ९९ दशमलव २ प्रतिशतमा १० वर्ष बाँचेको दर पाइएको छ । स्तन क्यान्सर भएका महिलामा यो दर ८७ दशमलव ५ प्रतिशत छ ।

थाइराइड क्यान्सर र पाठेघर क्यान्सरका बिरामीहरुमा यो दर क्रमशः ८६ दशमलव ८ प्रतिशत र ८२ दशमलव ३ प्रतिशत छ । आन्द्रा क्यान्सरका बिरामीमा भने यो दर ६९ दशमलव ७ प्रतिशत पाइएको छ ।

क्यान्सर शुरुआती चरणमै भएका बिरामीमा १० वर्ष बाँचेको दर पेटको क्यान्सरका लागि ९० दशमलव ३ प्रतिशत, फोक्सोको क्यान्सरका लागि ६७ दशमलव ६ प्रतिशत, स्तन क्यान्सर भएका महिलाका लागि ९८ दशमलव ३ प्रतिशत र आन्द्राको क्यान्सर भएकाहरुमाझ ९४ दशमलव ८ प्रतिशत रहेको छ । केही क्यान्सरहरु शुरुको चरणमै पहिचान भएर उपचार पछि निको हुन्छन् ।

तर स्तन क्यान्सरलगायत क्यान्सरलाई भने लामो समय चाहिने गुन्मा प्रिफेक्चरल इन्ष्टिच्यूट अफ पब्लिक हेल्थ एन्ड इन्भारोमेन्टल साइन्सेजका प्रमुख तथा अनुसन्धान टोलीका एक सदस्य नोबुहिरो सारुकी बताउँछन् । मानिसहरु नियमित रुपमा क्यान्सरको चेकजाँच गर्न जाउन र केही असामान्य वा अन्य केही लक्षणहरु देखियो भने डाक्टरलाई देखाउन भन्ने आफूहरुको चाहना भएको उनको भनाइ छ । पछिल्लो समय क्यान्सरको उपचारमा निकै प्रगति भइरहेको छ । यसले भविष्यमा क्यान्सरका बिरामीहरुमा बाँच्ने दर बढाउने अपेक्षा छ ।