(Japan) 25 th June | 2026 | Thursday | 9:21:06 AM || (Nepal) 6:06:06 AM
 
 

जापानमा बर्ड फ्लु प्रकोप बढेपछि ‘हाई अलर्ट’ जारी

  POSTED ON : Saturday, 13 November, 2021 | Views : 3000

जापानमा बर्ड फ्लु प्रकोप बढेपछि ‘हाई अलर्ट’ जारी


टोकियो, जापान ।

जापानको वातावरण मन्त्रालयले बिहिबार यहाँको बर्ड फ्लुसम्बन्धी अलर्ट बढाएर हाई अलर्ट (उच्चतम् स्तर)मा पुर्याएको छ । दुई ओटा प्रिफेक्चरमा बर्ड फ्लु भेटिएपछि यस्तो कदम चालिएको हो ।

उत्तरपूर्वी प्रिफेक्चर आकिताको योकोते शहरमा रहेको एक कुखुरा फारम र दक्षिणपश्चिम प्रिफेक्चर कागोशिमाको इजुमी शहरमा धान खेतको पानीमा आभियान इन्फ्लुएन्जा भाइरसहरु भेटिएका थिए । आकितामा भेटिएको भाइरस एच५एन८ भएको राष्ट्रिय अनुसन्धान संस्थाले पूष्टि गरेको छ । भाइरसको यही स्ट्रेनले गत वर्षको हिउँदमा जापानमा अहिलेसम्मकै ठूलो बर्ड फ्लुको प्रकोप उत्पन्न गराएको थियो ।

कागोशिमामा पाइएको स्ट्रेन भने एन५ भाइरस भएको बताइएको छ । जंगली जनावरले सो भाइरस ल्याएको हुन सक्ने कृषि मन्त्रालयले बताएको छ । वातावरण मन्त्रालयले देशभरका स्थानीय सरकारहरुलाई जंगली चराहरुको निगरानी मजबूत बनाउन अनुरोध गरिरहेको छ ।

मन्त्रालयले आकिता र कागोशिमामा बर्ड फ्लु भेटिएको स्थानबाट १० किमी वरपरको क्षेत्रलाई संक्रमण क्षेत्रको रुपमा निर्धारित गरेर यी ठाउँलाई निगारनी क्षेत्रका रुपमा राख्ने भएको छ ।

यी दुई प्रिफेक्चरका अधिकारीहरुले आकस्मिक सर्वेक्षण गर्दैछन् । संक्रमित चरासँग अत्यधिक सम्पर्कमा नआएसम्म मानिसहरुलाई बर्ड फ्लु सर्ने सम्भावना नरहेको मन्त्रालयले बताएको छ । 

यद्यपि, मानिहसरुले कुखुरा चराको मलमुत्रलाई छोएको छ भने हात धुन अनि मुख कुल्ला गर्न अधिकारीहरुले अनुरोध गरेका छन् । कुनै मृत जंगली चरा भेटिएका छन् भने यसबारे स्थानीय अधिकारीहरुलाई सूचित गर्न पनि भनिएको छ ।