(Japan) 26 th June | 2026 | Friday | 11:16:53 AM || (Nepal) 8:01:53 AM
 
 

फाईजरको खाने चक्की कोभिड विरुद्ध ८९ प्रतिशत प्रभावकारी

Jack Khadka   POSTED ON : Saturday, 06 November, 2021 | Views : 3086

फाईजरको खाने चक्की कोभिड विरुद्ध ८९ प्रतिशत प्रभावकारी


टोकियो, जापान ।

कोरोना भाइरसबाट संक्रमित भएर उच्च जोखिममा रहेका बिरामीहरुमा मृत्युदर ८९ प्रतिशतसम्म घटाउने सक्ने खालको चक्की औषधि फाईजर कम्पनीले सार्वजनिक गरेको छ ।

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोभिड बिरामीका लागि आफूले विकास गरेको खाने चक्की अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्न ८९ प्रतिशत प्रभावकारी देखिएको दावी गरेको हो ।

अवस्था गम्भीर हुने उच्च जोखिममा रहेका बिरामीहरूले कोभिडका लक्षण देखिनासाथ यो चक्कीको सेवन गर्न सक्ने कम्पनीले बताएको छ।

पाँच दिनसम्म दिनहुँ तीनवटा चक्की सेवन गर्दा गम्भिर अवस्थामा पुग्ने जोखिम घटाउने फाईजरको भनाई छ ।

फाइजरले उक्त चक्कीको आपत्‌कालीन प्रयोगका लागि अनुमति दिन अमेरिकी नियामक निकायमा निवेदन समेत दिइसकेको छ ।

उसको प्रतिद्वन्द्वी कम्पनी मर्कले पनि आफूले विकास गरेको मोल्न्यूपिरभीर चक्कीलाई प्रयोग अनुमति दिन निवेदन दिएको छ ।

उसको चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको रिपोर्ट सार्वजनिक गरको छ ।

ब्रिटिश नियामक निकायले बिहीवार मात्रै मोल्न्यूपिरभीर खाने चक्की प्रयोगका लागि अनुमति दिएको थियो ।

अस्पताल र चिकित्सकहरूमाथि बोझ घटाउने गरी कोभिड बिरामीले घरमै सेवन गर्न सक्ने चक्कीको विकास गर्न औषधि उत्पादकहरू लागिपरेका छन् ।

कोभिड देखिनासाथ जतिसक्दो चाँडो जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक मोल्न्यूपिरभीर चक्की दिइनेछ।

मोल्न्यूपिरभीर अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको पहिलो ओखती हो जसलाई सुईको रूपमा लिनुभन्दा सेवन गर्न सकिनेछ ।

कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि निकामक एमएचआरएले जनाएको थियो ।