(Japan) 25 th June | 2026 | Thursday | 9:28:09 AM || (Nepal) 6:13:09 AM
 
 

‘मानविय त्रुटीका कारण मोडेर्नाको खोप दूषित’ : ताकेदा

  POSTED ON : Sunday, 03 October, 2021 | Views : 3442

‘मानविय त्रुटीका कारण मोडेर्नाको खोप दूषित’ : ताकेदा


टोकियो, जापान ।

अमेरिकी फर्मा कम्पनी मोडेर्ना इंकको खोपको भाइलभित्र मानविय त्रुटीका कारण धातुको टुक्राहरु परेको ताकेदा फर्मास्युटिकल कम्पनीले शुक्रबार बताएको छ । जापानमा मोडेर्नाको खोप आयात र वितरणको जिम्मा ताकेदाले लिएको थियो ।

जुलाईमा स्पेनको एउटा कारखानामा बनेको खोपको भाइलभित्र बाह्य वस्तु पाइएको थियो ।सो कारखानामा बनेका खोपहरु जापान आयात गरिएको थियो । सो घटनापछि जापानी अधिकारीले बाह्य वस्तु पाइएको मोडेर्नाको तीन लटको १६ लाख ३० हजार मात्रा खोपको प्रयोगमा रोक लगाएको थियो । सो घटनाबारे मोडेर्नाले ताकेदा र स्पेनी उत्पादक रोभीसँग मिलेर अनुसन्धान गरेको थियो । समस्या अनुचित एसेम्बलीका कारण र मानवीय त्रुटीका कारण भएको बताइएको छ ।

स्टार ह्विल र खोपको भाइलको मुखमा स्टपर लगाउने मशिनबीच १ एमएमको ग्यापलाई हेर्नमा भएको त्रुटीका कारण भाइलभित्र धातुको टुक्रा पसेको प्रतिवेदनमा भनिएको छ । जुन २७ देखि जुलाई ३ सम्म रोभीले सो कारखानामा उत्पादन गरेको मोडेर्नाको कोभिड विरुद्धको खोपको पाँच ओटा लटको निरीक्षण गरिएको थियो । यी मध्ये पहिलो तीन लट जापानमा पठाइएको थियो । सो तीन लटका ३९ भाइलमा स्टेनलेश स्टिलका टुक्रा पाइएको थियो ।

जुलाई २ मा धातुको कण पाईएपछि चौथो लट पनि निरीक्षणमा असफल भयो । पाँचौ लटलाई भनेन रोभीले कतै पनि पठाएन । चौथो र पाँचौ लटमा देखिएको समस्याबारे मोडेर्ना, ताकेदा र जापानको स्वास्थ्य मन्त्रालयलाई सूचित गरिएको थियो । तर पहिलो तीन लट भने निरीक्षणमा उत्तिर्ण भएकोले यसमा समस्या छैन भन्ने ठानेर जापान पठाइयो ।

गलत सेट–अपका कारण पाँच ओटै लटका खोपमा समस्या देखिएको अनुसन्धानले देखाएको छ । सञ्चालन प्रक्रियामा गरिएको सुधार र नयाँ प्रिसिजन टूलको प्रयोगले यस्ता समस्या आउन नदिने प्रतिवेदनमा भनिएको छ । खोपमा पाइएको स्टेनलेश स्टिलका टुक्राहरुले स्वास्थ्यमा खासै ठूलो असर नपुर्याउने बताइएको छ ।