टोकियो, जापान ।
जापानको स्वास्थ्य मन्त्रालयले कोभिडको गम्भीर लक्षण नदेखिएका बिरामीमा प्रयोग गर्नका लागि अर्को औषधिलाई अनुमति दिएको छ । एन्टी बडी ककटेल उपचारमा प्रयोग गर्न जापानमा अनुमति दिइएको यो दोस्रो औषधि हो ।
मन्त्रालयले बेलायती फर्मा कम्पनी ग्ल्याक्सोस्मिथकेलाइन (जीएसके)ले उतपादन गरेको सोत्रोभिमाभ नामक औषधिलाई सोमबार साँझ अनुमति दिएको हो । सोही दिन मन्त्रालयका विज्ञहरुको समितिले औषधिको मूल्यांकन गरेर यो प्रयोगका लागि प्रभावकार र सुरक्षा छ भन्ने निष्कर्ष मन्त्रालयलाई दिएका थिए ।
सोत्रोभिमाभ कोरोना भाइरसलाई कमजोर बनाउने ‘न्यूट्रिलाइजिङ’ एन्टिबडी हो । औषधि नशामा सुँइमार्फत पठाइन्छ । अक्सिजन लगाउनु पर्ने अवस्थामा नभएका हलुका देखि मध्यम खालको लक्षण देखिएका तर गम्भीर खालको लक्षण देखिने उच्च जोखिम भएका बिरामीहरुलाई यो औषधि दिइन्छ ।
यो औषधिले अस्पताल नै भर्ना भएर उपचार गराउनु पर्ने वा मृत्युको जोखिम ७९ प्रतिशतले कम गर्ने विदेशमा गरिएको क्लिनिकल परीक्षणले देखाएको थियो । मेमा अमेरिकाको खाद्य तथा औषधि विभागले यसलाई आकस्मिक प्रयोगको लागि अनुमति दिएको थियो ।