(Japan) 25 th June | 2026 | Thursday | 4:12:58 PM || (Nepal) 12:57:58 PM
 
 

फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकामा प्रभावकारी

  POSTED ON : Wednesday, 22 September, 2021 | Views : 4116

फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकामा प्रभावकारी


न्यूयोर्क, एजेन्सी ।

आफूले बनाएको कोभिड–१९ विरुद्धको खोपले ५ देखि ११ वर्षको बालबालिकामा पनि काम गर्ने अमेरिकी फर्मा कम्पनी फाइजर इंकले बताएको छ ।

कम्पनीले अमेरिकी नियामक निकायसँग छिटै नै यो उमेरसमूहमा पनि खोप प्रयोगको अनुमति माग्ने भएको छ । कम्पनीको खोपलाई ५ देखि ११ वर्षबीचका बालबालिकाहरुमा प्रयोग गर्ने अनुमति मिलेमा यो बालबालिकाहरुलाई खोप लगाउनेतर्फ महत्वपूर्ण कदम हुनेछ ।

फाइजर र जर्मन साझेदार बायोएनटेकले बनाएको सो खोप अहिले भने १२ वर्ष वा सो भन्दा बढी उमेरका मानिसहरुमा प्रयोग भइरहेको छ । तर विद्यालय विस्तारै खुल्न थालेको र कोरानो भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्टका कारण शिशु तथा बालबालिकाहरुमा संक्रामण उच्च दरमा बढेको छ । यस्तोमा आफ्ना बालबिालकाहरुलाई विद्यालय पठाउनु अघि खोप लगाइयोस् भनेर धेरैजसो अभिभावकहरु कुरिरहेका छन् ।

प्राथमिक विद्यालयका बालबालिकाहरुमा फाइजर सकेसम्म थोरै अर्थात् अहिले एक मात्राका लागि प्रयोग गरिने खोपको एक तिहाई मात्रै परीक्षण गरेको थियो । उनीहरुमा दोस्रो मात्रा लगाएपछि किशोर किशोरी र युवा तथा वयस्कहरुले खोप लगाएपछि शरीरमा उत्पन्न भएको जत्तिकै एन्टिबडी विकास भएको बताइएको छ ।

शिशु तथा बालबालिकाहरुलाई लगाइएको खोपको मात्राले पनि अहिले देखिरहेको जस्तै थोरै अस्थायी साइड इफेक्ट देखिएको बताइएको छ । जापानमा  पछिल्लो समय बालबालिकाहरुमा संक्रमण बढेको छ ।