(Japan) 25 th June | 2026 | Thursday | 4:15:15 PM || (Nepal) 1:00:15 PM
 
 

कोरोना महामारिले जापानमा पल्स अक्सिमिटरको माग उच्च

  POSTED ON : Friday, 17 September, 2021 | Views : 2244

कोरोना महामारिले जापानमा पल्स अक्सिमिटरको माग उच्च


गुन्मा, जापान ।

कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्टको बिगबिगीका कारण संक्रमण बढेर भएर घरमै स्वास्थ्य लाभ गरिरहेका बिरामीको संख्या देशभरमा बढेसँगै जापानमा पल्स अक्सिमिटरको माग पनि बढेको छ ।

पूर्वी जापानको गुन्मा प्रिफेक्चरमा एक कम्पनीले यस्ता मेडिकल उपकरणको उत्पादन बढाउन लगानी गरिरहेको छ । तर विश्वभर चिप अभावका कारण कम्पनीको प्रयासमा अड्चन उत्पन्न भइरहेको छ । अघिल्ला वर्षको तुलनामा पल्स अक्सिमिटरको उत्पादन क्षमता  १ दशमलव ५ गुणा बढेको शिबुकावास्थित विद्युतीय उपकरण निर्माता कम्पनी निशोन सेइमिचु कोक्की कम्पनीका एक प्रतिनिधिले बताएका छन् ।

कम्पनीले यही वर्षको शुरुमा उत्पादन लाइन बढाउन उपकरण र कारखानामा पैसा लगानी गरेको थियो । कोरोना भाइरसको महामारी मत्थर हुने कुनै संकेत नभेटिएकै बेलामा गत वर्षयता पल्स अक्सिमिटरको माग बढेको छ । तर उत्पादन भने माग अनुरुप हुन सकेको छैन । जापानका अन्य प्रमुख उत्पादकहरुको हालत पनि यस्तै छ ।

टोकियो स्थित कोनिका मिनोल्टा इंकले जुनदेखि उत्पादन क्षमता सन् २०१९ को तुलनामा २० गुणा बढाइसकेको छ । स्थानीय सरकारहरुबाट पल्स अक्सिमिटरको माग उच्च भएको कम्पनीका एक प्रतिनिधिले बताएका छन् । जुलाई देखि नै जापानमा घरमै स्वास्थ्य लाभ गर्ने कोभिडको बिरामीको संख्या पनि बढेको थियो ।

तर अटोमोबाइलको विक्रीमा आएको सुधार र अल्ट्राफास्ट फाइभजी नेटवर्कका स्मार्टफोनको उच्च मागलगायत कारणहरुले गर्दा विश्वभर चिपको अभाव उत्पन्न भएको छ । यसले पल्स अक्सिमिटरको उत्पादन प्रभावित भइरहेको छ । आपूर्ति स्थिर कहिले हुन्छ भन्ने अनिश्चित छ ।

यस्तोमा उत्पादन सेप्टेम्बरसम्म यथावत् राख्न सकिएपछि अक्टोबरपछिको अवस्था अनिश्चित रहेको दुबै कम्पनीका प्रतिनिधिहरुले बताएका छन् । पल्स अक्सिमिटरमा उज्यालो पहिचान गर्न र उपकरणभित्र औंला घुसारिँदा इन्डिकेटर बल्न फोटोडियोड्स जस्ता चिपको प्रयोग गरिएको हुन्छ ।