(Japan) 25 th June | 2026 | Thursday | 4:10:12 PM || (Nepal) 12:55:12 PM
 
 

जापानका स्थानिय निकायले कोभिडका बिरामी उपचार गर्न अस्थायी केन्द्र बढाउन थाले

  POSTED ON : Tuesday, 07 September, 2021 | Views : 1882

जापानका स्थानिय निकायले कोभिडका बिरामी उपचार गर्न अस्थायी केन्द्र बढाउन थाले


टोकियो, जापान ।

कोभिड संक्रमितको संख्या बढेर हालैका दिनमा देशभरका अस्पतालमा चरम शैया अभाव हुन थालेपछि जापानमा स्थानीय सरकारहरु त्यस्ता बिरामीको उपचारका लागि धमाधम अस्थायी केन्द्र खोल्न लागेका छन् ।

२५ ओटा स्थानीय सरकारहरुले त्यस्ता केन्द्र खोलिसकेको वा खोल्ने योजनामा छन् । क्योदो न्यूजले शनिबार गरेको सर्वेक्षणमा यस्तो पाइएको हो ।सो देशव्यापी सर्वेक्षण अगष्ट २६ देखि सेप्टेम्बर २ को बीचमा गरिएको थियो ।

अधिकांश स्थानीय सरकारलाई त्यस्ता केन्द्रका लागि पर्याप्त डाक्टर र स्वास्थ्य कर्मचारीहरु सुरक्षित गर्न पनि कठिन भइरहेको सर्वेक्षणले देखाएको छ । कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्याएिन्ट फैलिएसँगै देशका कयौं हिस्सामा उपचार गराउनु पर्ने बिरामीको संख्या अस्पतालको क्षमताभन्दा माथि पुगेका छन् ।

अस्पतालहरुले बिरामीको चाप थेग्न नसकेपछि प्रधानमन्त्री योशिहिदे सुगाले नगरपालिकाहरुलाई अगष्टको शुरुमा गम्भीर बिरामीलाई मात्रै भर्ना लिन सुझाएका थिए ।

टोकियो र अन्य केही ठूला शहरहरु अचानक अवस्था बिग्रिएर अस्पताल खोज्न हिडेका घरमै स्वास्थ्य लाभ गरिरहेका कोभिडका बिरामीहरु भर्ना गराउन अस्पताल खोज्न एम्बुलेन्सहरुलाई सकस भइरहेको छ । हाल देशभरमा १ लाख ३० हजार भन्दा धेरै संक्रमति घरमै स्वास्थ्य लाभ गरिरहेका छन् ।

अगष्ट २५ मा स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारहरुलाई अस्पतालमा शैया पाउन नसक्ने बिरामीका लागि अस्थायी केन्द्र बनाउन अनुरोध गरेको थियो । सर्वेक्षणमा ४७ प्रिफेक्चरल सरकार र २० मुख्य शहरहरु सहभागी थिए ।

यसमध्ये २१ ज्नाले आफूले अस्थायी केन्द्रको स्थापना गर्नेबारे विचार गरिरहेको बताएका थिए । यस्ता केन्द्रहरुमा घरमै स्वास्थ्य लाभ गरेर बसिरहेका तर अचानक स्वास्थ्य अवस्था बिग्रिएका बिरामीहरुलाई उपचार गराइने अक्सिजन स्टेशन लगायत थिए ।

मध्य जापानको फुकुई प्रिफेक्चरले व्यायामशालालाई अस्थायी अस्पताल बनाउन शुरु गरेको छ । इहिमे प्रिफेक्चरले पनि होटल भाडामा लिएर कोभिडको बिरामीको उपचार गर्ने ठाउँ बनाइरहेको छ ।

देशभरमा शनिबारसम्ममा कोभिडका गम्भीर बिरामीको संख्या २ हजार २२३ को कीर्तिमानी उचाईमा उक्लिएको छ । यो अघिल्लो दिनको तुलनामा २ धेरै भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।