(Japan) 25 th June | 2026 | Thursday | 4:08:30 PM || (Nepal) 12:53:30 PM
 
 

डाक्टरले हेर्न नमानेपछि जापानमा महिलाको गर्भ खेर गयो

  POSTED ON : Sunday, 05 September, 2021 | Views : 2918

डाक्टरले हेर्न नमानेपछि जापानमा महिलाको गर्भ खेर गयो


मेई, जापान ।

जापानको मेई प्रिफेक्चरको चु शहरमा कोरोना भाइरसको संक्रमणको लक्षण नदेखिएकी  एक गर्भवति महिलाको कोभिड परीक्षण गर्न डाक्टरले नमानेपछि गर्भ तुहिएको छ । मेई प्रिफेक्चरल सरकारले शुक्रबार यस्तो बताएको हो । ती महिलाको श्रीमानलाई संक्रमण भएको थियो ।प्रिफेक्चरल सरकार र योक्काइची नगर जनस्वास्थ्य केन्द्रका अनुसार महिला सोही शहरमा बस्थिन र चार महीनाको गर्भवति थिइन् ।

उनको श्रीमानलाई अगष्ट २० मा संक्रमण पूष्टि भएको थियो । श्रीमानसँग निकट सम्पर्कमा रहेकोले उनमा पनि संक्रमणको आशंका गरिएको थियो । तर उनमा खासै लक्षणहरु देखिएको थिएन । त्यसैले उनले पीसीआर परीक्षण गर्न पाइनन् । रक्तश्राव भएपछि उनी प्रसुति तथा स्त्री रोगसम्बन्धी डाक्टरसँग परामर्श गरिन् ।

तर उनी संक्रमितको निकट सम्पर्कमा रहेको भन्दै स्वास्थ्य संस्थाले उनको जाँच गर्न मानेन । पेट दुखिरहेकोले ती महिला अर्को स्वास्थ्य संस्थामा अरु नै डाक्टरलाई देखाउन गइन् । त्यहाँ उनको जाँच भयो र पीसीआर परीक्षण पनि गरियो । त्यसपछि उनलाई घरमै नतिजा कुर्न भनियो । तर घर फर्किदै गर्दा उनको गर्भ तुहियो । पछि उनको परीक्षणको नतिजा नकारात्मक आयो ।

मध्य अगष्ट यता केही जनस्वास्थ्य केन्द्रहरुले संक्रमितको निकट सम्पर्कमा आएका व्यक्तिहरुमा लक्षण देखिए मात्रै परीक्षणका लागि प्रथामिकता दिने गरेका छन् ।

गर्भवति महिलाको हकमा भने भविष्यमा यस्तै घटना दोहोरिन नदिन बिना कुनै शर्त उनीहरुको कोभिड परीक्षण गर्न जनस्वास्थ्य केन्द्रहरुलाई सूचित गरेन प्रिफेक्चरल सरकारले बताएको छ । दीर्घ रोग भएकाहरुलाई पनि परीक्षणमा प्रथामिकता दिने अनुरोध गरिएको छ ।