गुन्मा, जापान ।
अमेरिकी फर्मा कम्पनी मोडेर्ना इंकको कोभिड विरोधी थप खोपहरुमा पनि बाह्य वस्तु भेटिएको छ । गुन्मा प्रिफेक्चरल सरकारले आइतबार यस्तो बताएको हो ।
खोपका भाइलमा बाह्य वस्तु भेटिने गुन्मान सातौं प्रिफेक्चर हो । यस अघि इबाराकी, साइतामा, टोकियो, गिफु, आइची र ओकिनावा प्रिफेक्चरका कयौं खोप स्थलमा खोपका भाइलमा बाह्य वस्तु भेटिएका थिए ।
गुन्मामा आइतबारसम्मको तीन दिनमा समस्या देखिएको खोपको लटबाट करीब ४ हजार ५०० ले खोप लगाइसकेको तर अहिलेसम्म कसैले पनि स्वास्थ्य समस्या देखियो भनेर नभनेको स्थानीय सरकारले बताएको छ । यी सात प्रिफेक्चर अहिले कोरोना भाइरसको उच्च संक्रमण नियन्त्रण गर्न आपतकाल लगाइएको क्षेत्रमा पर्दछन् ।
सिरिञ्जबाट भाइलमा खोप तान्न सुँइ घुसाउँदा भाइलको मुखमा भएको रबरका केही कण भित्र पस्न सक्ने सम्भावना भने रहेको आइतबार स्वास्थ्य मन्त्रालयले बताएको थियो । अहिलेसम्म खोपको गुणस्तरमा भने कुनै मुख्य समस्या नभेटिएको मन्त्रालयले भनेको छ ।
जापानमा मोडेर्नाको खोप विक्री वितरणको जिम्मा पाएको घरेलु कम्पनी ताकेदा फर्मास्युटिकलसँग पनि आफूले परामर्श गरेको मन्त्रालयले बताएको छ । सुरक्षासँग सम्बन्धित खासै ठूलो समस्या नदेखिएकोले सो ब्याचको खोपको प्रयोग नै रोक्नु पर्ने आवश्यता नरहेको निर्णय गरिएको बताइएको छ । बिहिबारदेखि खोपमा समस्यासम्बन्धी सवाल शुरु भएको छ ।