टोकियो, जापान ।
अमेरिकी फर्मा कम्पनी मोडेर्ना इंकले जापानलाई आपूर्ति गराएको केही मात्रा खोपको भाइलमा बाह्य वस्तु पाइएको थियो । ती वस्तुहरु धातुको कणहरु हुन सक्ने स्वास्थ्य मन्त्रालयसम्बद्ध स्रोतहरुलाई उद्धृत गर्दै जापानको सरकारी टिभी च्यानल एनएचकेले बताएको हो ।
खोपका तीन ओटा लटका केही भाइलहरुमा बाह्य वस्तु पाइएको रिपोर्टहरु आएपछि बिहिबार स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन सोही प्रडक्शन लाइनमा उत्पादन गरिएका करीब १६ लाख ३० हजार मात्रा खोपको प्रयोगमा रोक लगाएको थियो । आईची, गिफु, इबाराकी, साइतामा र टोकियोमा खोपका ३९ भाइलमा बाह्य वस्तु पूष्टि भएका थिए । ती तीन लटका खोपहरु देशभरका करीब ८६३ खोप केन्द्रमा वितरण गरिएको थियो ।
जापानमा मोडेर्नाको खोपको घरेलु वितरक ताकेदा फर्मास्युटिकल कमपनीले केही भाइल दूषित रहेको भन्ने खबर पाएको एक हप्ता भन्दा बढी समय बितेपछि खोपको प्रयोगमा रोक लगाउने निर्णय गरिएको थियो । खोपको भाइलमा पाइएको वस्तुले चुम्बकसँग प्रतिक्रिया देखाएको र तसर्थ सो वस्तु धातु हुन सक्ने मन्त्रालय स्रोतलाई उद्धृत गर्दै एनएचकेले बिहिबार समाचारमा भनेको थियो ।
खोपमा पाइएको वस्तुले खोपको सुरक्षा वा प्रभावकारितामा कुनै समस्या उत्पन्न नगर्ने मोडेर्नाले बताएको छ । सरकारले मोडेर्नाको खोप प्रयोगमा रोक लगाएपछि यसले देशको खोप कार्यक्रममा अर्को झट्का दिएको छ । यसले कम्पनी, विश्वविद्यालयका खोप कार्यक्रम प्रभावित बनेको छ ।