टोकियो, जापान ।
जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै स्वास्थ्य उपचार प्रणालीमाथि पनि दबाब बढेको छ ।
अगष्ट १६ देखि २२ सम्मको हप्तामा ३ हजार २०७ जना आकस्मिक बिरामीलाई भर्ना गरिदिने अस्पताल भेटाउन एम्बुलेन्स क्रुलाई सकस भएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्यांकले देखाएको छ । यीमध्ये १ हजार ६१७ जना कोभिडका शंकास्पद बिरामी थिए ।
एम्बुलेन्सबाट अस्पताल लग्नु पर्ने बिरामीको कूल संख्या अघिल्लो हप्ताको तुलनामा भने १५५ कम हो । सात हप्ता यता बिरामीको संख्यामा आएको यो पहिलो कमी हो । कोरोना भाइरसको संक्रमणको पाँचौ लहर साम्य हुने कुनै संकेत छैन ।
स्वास्थ्य उपचार प्रणालीमाथिको चाप बढेको छ । आकस्मिक बिरामीहरुलाई अस्पतालमा भर्ना गर्न झेल्नु पर्ने सकसले पनि निरनतरता पाउने देखिएको छ ।
एम्बुलेन्सले बिरामीलाई लिन आएपछि चार वा सो भन्दा धेरै स्वास्थ्य संस्थाहरुलाई सम्पर्क गरेर बिरामी भर्ना गराउन ३० मिनेटभन्दा बढी कुर्नु पर्यो त्यस्तो अवस्थालाई अग्नि तथा विपद् व्यवस्थापन विभागले ‘अस्पताल भर्नामा कठिनाई’ भएका बिरामीको रुपमा परिभाषित गरेको छ ।
विभागले देशभरका ५२ स्थानका अग्नि नियन्त्रण कार्यालयका मुख्यालयहरुमा सर्वेक्षण गरेको थियो ।