(Japan) 27 th June | 2026 | Saturday | 1:30:43 PM || (Nepal) 10:15:43 AM
 
 

जापानमा कोरोना खोपमा शंकास्पद पदार्थ मिसावट फेला, १६ लाख बढी खोप प्रयोग गर्न रोक

  POSTED ON : Friday, 27 August, 2021 | Views : 5198

जापानमा कोरोना खोपमा शंकास्पद पदार्थ मिसावट फेला, १६ लाख बढी खोप प्रयोग गर्न रोक


टोकियो, जापान ।

जापानको स्वास्थ्य मन्त्रालयले अमेरिकी फर्मा मोडेर्नाले बनाएको कोरोना भाइरस खोपको लाखौं मात्रामा बाह्या पदार्थ भेटिएको बताएको छ । यो भ्याक्सिनको मात्रा १६ लाख ३० हजार रहेको मन्त्रालयले पुष्टि गरेको छ । पुष्टि गरिएका सबै खोपको प्रयोग रोक्ने निर्णय समेत सरकारले गरेको छ ।

कयौं घरेलु बृहत् खोप केन्द्रहरुबाट खोपको प्रयोग हुन बाँकी केही हिस्सामा बाह्य वस्तु पाइएको रिपोर्टहरु आफूले प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले बिहिबार बताएको हो ।सावधानी अपनाउन सोही प्रडक्शन लाइनमा उत्पादन गरिएका करीब १६ लाख ३० हजार मात्रा खोपको प्रयोग अहिलेको लागि आफूले स्थगित गरेको जापानमा मोडेर्नाको खोप विक्री वितरणको जिम्मा पाएका जापानी औषधि निर्माता कम्पनी ताकेदा फर्मास्युटिकल कम्पनीले बताएको हो । पछिल्लो समस्याका कारण सुरक्षा समस्या देखिन्छ कि देखिदैंनन् भनेर हेर्न भने बाँकी नै रहेको मन्त्रालय र कम्पनीले बताएका छन् ।

मन्त्रालयका अनुसार मोडेर्नाले यस मामिलामा अनुसन्धान गर्ने वाचा गरेको छ । ताकेदाले मोडेर्नालाई पनि आकस्मिक अनुसन्धानको लागि अनुरोध गरेको छ । असामान्य देखिएका खोपको कुनै पनि मात्रा प्रयोग नगर्न ताकेदाले स्वास्थ्य संस्था तथा अन्य निकायहरुलाई अनुरोध गरेको छ । यस घटनाले देशमा कोरोना भाइरस विरोधी खोपको उपलब्धतामा पर्ने प्रभाव रोक्न प्रयास गरिने ताकेदाले बताएको छ ।

आईची, गिफु, इबाराकी, साइतामा र टोकियोमा खोपका ३९ भाइलमा बाह्य वस्तु पूष्टि भएका थिए । यी खोप स्पेनको कारखानामा उत्पादन गरिएको र सोही कारखानामा सोही समयमा उत्पादन गरिएको १६ लाख ३० हजार मात्रा खोप जापान आइपुगेको बताइएको छ ।  यी खोपहरु ३००४६६७, ३००४७३४ र ३००४९५६ लटका छन् ।

सो लटका खोपहरु देशभरका करीब ८६३ खोप केन्द्रमा वितरण गरिएको छ । मन्त्रालयले हरेक केन्द्रलाई यिनीहरुको प्रयोग नगर्न अनुरोध गरेको छ । सम्बन्धित व्यक्तिहरुले प्रभावित खोप हो कि होइन भनेर जाँच्न सकुन् भनेर मन्त्रालयले लट नम्बर सार्वजनिक गरेको हो । जापानले मेमा अनुमति दिएयता मोडेर्नाका १ करोड मात्रा भन्दा धेरै खोप प्रयोग गरिसकेको छ । सरकारले कम्पनीसँग ५ करोड मात्रा खोपको लागि सम्झौता गरेको थियो । हाल १२ वर्ष वा सो भन्दा बढी उमेरकालाई मोडेर्नाको खोप लगाइरहेको छ ।