टोकियो, जापान ।
जापान सरकारले देशभरमा कोभिड–१९ का बिरामीहरुलाई एन्टिबडी ककटेल उपचार उपलब्ध गराउने योजना बनाएको छ । यस उपचार पद्दतिलाई जापानले गत महीना मात्रै अनुमति दिएको थियो ।
संक्रमणलाई दबाउन बिरामीहरुलाई आईभी ड्रिपमार्फत दुईओटा औषधि एकै साथ दिइनेछ । कोरोना भाइरसको उच्च संक्रमणका कारण आपतकाल लगाइएका प्रिफेक्चरहरुमा औषधि छिटै उपलब्ध गराउने सरकारको योजना छ ।
शुरुमा औषधि अस्पतालमा भर्ती भएर उपचार भइरहेका कोभिडका बिरामीलाई दिइइएको थियो । अगष्टको मध्यदेखि भने अस्पतालहरुमा शैया नभेटाएपछि होटल र अस्थायी स्वास्थ्य केन्द्रहरुमा आइसोलेशनमा बसेका बिरामीहरुलाई पनि औषधि दिन थालिएको छ ।
टोकियो र फुकुओकाका होटलहरुम स्वास्थ्यलाभ गरिरहेका बिरामीहरुले यस अघि नै औषधि लिइरहेका छन् । केही डाक्टरहरुले भने यो औषधि घरमै आइसोलेशनमा बसिरहेका बिरामीहरुलाई पनि दिनु पर्ने बताइरहेका छन् ।
तर औषधिको ओभरडोजका कारण गम्भीर प्रतिक्रिया देखिएकोले ययस्ता अनुरोधप्रति सरकार सतर्क बनेको छ । औषधिको सम्भावित प्रतिक्रियामा ज्वरो आउने, टाउको दुख्ने र सास फेर्न गाह्रो हुने आदि भएको एन्टिबडी ककटेल उपचारको विकासकर्ता अमेरिकी कम्पनीले बताएको छ ।
क्लिनिकल डेटा अझै पनि सीमित भएकोले अज्ञात असरहरु पन हुन सक्ने कम्पनीले बताएको छ । यो औषधि दिएर उपचार गरिने बिरामीको स्वास्थ्यकर्मीहरुले निगरानी गर्नु पर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ ।