टोकियो, जापान ।
जापान सरकारले सरकारी कर्मचारीहरुलाई प्रजननसम्बन्धी उपचारका लागि वर्षमा १० दिनसम्मको तलबी बिदा दिने भएको छ । यो बिदा आगामी वर्षदेखि दिइनेछ । देशभर जन्मदर तीव्र दरमा घटेको र जनसंख्यामा कमी आइरहेको समस्या बच्चा जन्माउन चाहने दम्पत्तिलाई टेवा दिन यो नीति ल्याउन लागिएको हो ।
‘सार्वजनिक क्षेत्रले यो पहल गर्नेछ,’ राष्ट्रिय कर्मचारी प्राधिकरण (एनपीए)का अध्यक्ष युको कावामोतोले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भनिन् । यस कदमले निजी क्षेत्रलाई पनि यस्तै खालको पहल गर्न प्रेरित गर्ने आशा उनले व्यक्त गरेकी छिन् ।
करीब १ दशमलव ८ प्रतिशत सरकारी कर्मचारीहरुले प्रजननसम्बन्धी उपचार गराइरहेको जनवरी र फेब्रुअरीमा करीब ४७ हजार सरकारी कर्मचारीबाट उत्तर प्राप्त भएको एक अनलाइन सर्वेक्षणले देखाएको थियो । सर्वेक्षणमा सहभागी १० दशलमव १ प्रतिशतले सो उपचार गरेको र ३ दशमलव ७ प्रतिशतले यसबारे विचार गरिरहेको बताएका थिए ।
उपचार गरिसकेको वा गराउनेबारे विचार गरिरहेको मध्ये ६२ दशमलव ५ प्रतिशतले कामसँग उपचारलाई सन्तुलित राख्न कठिन भएको बताएका थिए । ११ दशमलव ३ प्रतिशतले भने बारम्बार डाक्टरकहाँ गइरहनु परेको, खर्च अनि काममा जानु पर्ने समयसँग जुधेकोले यो असम्भव रहेको बताएका थिए ।
सरकारी फूल टाइम र पार्ट टाइम कर्मचारीहरुलाई पाँच दिनको तलबी बिदा र आवश्यक भयो भने थप पाँच दिनको बिदा उपलब्ध गराउने र भार कम गर्ने लक्ष्य एनपीएको नयाँ योजनाको भएको बताइएको छ । बिदालाई टुक्रयाउन र लचिलो रुपमा प्रयोग गर्न सकिने बताइएको छ । जस्तै कामको बेलामा डाक्टरकहाँ जान थोरै घन्टा मात्रै छुटि लिन सकिन्छ । प्रजनन उपचारमा पहुँच वृद्धिलाई प्रधानमन्त्री योशिहिले सुगाले प्राथमिकतामा राखेका छन् ।
आगामी अप्रिलदेखि यसलाई जापानको सार्वजनिक स्वास्थ्य बीमामा समेटन् पनि उनले प्रयास गरिरहेका छन् । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक र आर्थिक प्रभावबीच गत वर्ष जापानमा ८ लाख ४० हजार ८३२ शिशु जन्मिए । यो संख्या अहिलेसम्मकै कीर्तिमानी न्यून हो ।
सो अवधिमा कूल प्रजनन दर (महिलाले आफ्नो जीवनभर जन्माउने औसत बच्चाको संख्या) अघिल्लो वर्षको तुलनामा शून्य दशमलव २ प्रतिशतले घटी १ दशमलव ३४ प्रतिशतमा आएको थियो ।