टोकियो, जापान ।
टोकियो क्षेत्रमा बढ्दो संक्रमणले स्वास्थ्य प्रणालीलाई गम्भीर रुपमा प्रभावित पारिरहेको भन्दै जापानी प्रधानमन्त्री योशिहिदे सुगाका प्रमुख सल्लाहकारले बिहिबार मानिसहरुको गतिविधिमा उल्लेख्य कमी ल्याउन कठोर खालका उपायहरु अपनाउन भनेका छन् ।
‘संक्रमण निरन्तर अहिलेकै स्तरमा बढिरह्यो भने हामीहरुले बचाउन सक्ने ज्यान पनि बचाउन सक्ने छैनौं,’ शिगेरु ओमीले पत्रकार सम्मेलनमा भने ।
अवस्था विपद् जस्तै भएको उनको भनाइ छ । हालैका दिनहरुमा टोकियोमा कीर्तिमान स्तरमा संक्रमण बढिरहेको छ । बिहिबार करीब ५००० संक्रमित थपिएका थिए ।कोभिडको मध्यम लक्षण देखिएका २० हजार बिरामी घरमै स्वास्थ्य लाभ लिइरहेका छन् । जापान अहिले महामारी शुरु भएयताकै ठूलो संकटबाट गुज्रिरहेको छ । देशभर बिहिबार करीब १९ हजार संक्रमित थपिएका थिए ।
योसँगै संक्रमण लगातार दोस्रो दिन नयाँ उचाईमा पुग्यो । सर्वसाधारणबाट निकै विरोध भएपनि ओलम्पिक्सको आयोजना गरेकोले संक्रमण बढेको भन्दै सुगाले चर्को आलोचनाको सामना गरिरहेका छन् । तर सुगाले भने ओलम्पिक्सका कारण टोकियोमा संक्रमण बढेको कुराको खण्डन गरेका छन् । टोकियोमा अगष्ट २४ देखि पारालिम्पिक्स शुरु हुँदैछ ।
ओलम्पिक्स जस्तै यो पनि दर्शक बिना हुनु पर्ने विज्ञहरुले बताइरहेका छन् । स्वास्थ्य अधिकारीहरुले परीक्षण बढाउँदै घरमै आइसोलेशनमा बसिरहेकाहरुलाई टेवा उपलब्ध गराउन समुदायमा आधारित प्रणाली स्थापना गर्न थप स्वास्थ्य संस्थाहरुलाई मद्दत गर्न पनि भनेका ओमीले छन् । अन्यथाः घरमा मर्ने संक्रमितको संख्या बढ्ने उनले बताए ।