(Japan) 27 th June | 2026 | Saturday | 1:26:12 PM || (Nepal) 10:11:12 AM
 
 

जापानमा ८६ प्रतिशत वृद्धवृद्धाले कोरोनाको खोप लगाए

  POSTED ON : Monday, 02 August, 2021 | Views : 4768

जापानमा ८६ प्रतिशत वृद्धवृद्धाले कोरोनाको खोप लगाए


टोकियो, जापान ।

जापान सरकारले जुलाईको अन्त्यसम्म सबै ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरोधी खोप लगाउने लक्ष्य दिएको थियो । सो अवधिमा ६५ वर्ष वा सो भन्दा माथि पहिलो र दोस्रो खोप लगाउनेको संख्या क्रमश्ः ८६ प्रतिशत र ७४ प्रतिशत रहेको छ । मन्त्री परिषदको सचिवालयले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । हालैका दिनमा युवा वर्गमाझ संक्रमण ह्वात्तै बढेको छ । यसले सो उमेरसमूहमा पनि खोप कार्यक्रम तत्कालै विस्तार गर्नुपर्ने आवश्यकता उत्पन्न भएको छ ।

सरकारले जुलाई २ देखि ३ करोड ६० लाख ज्येष्ठ नागरिकलाई खोप लगाउन शुरु गरेको थियो । मन्त्री परिषद्को सचिवालयका अनुसार शुक्रबारसम्ममा देशभरका ३ करोड ५ लाख ४० हजार वृद्धवृद्धाले खोपको पहिलो मात्रा लगाएका छन् । सबै प्रिफेक्चरमा खोप दर ८० प्रतिशत माथि छ । यामागाता, गिफु, शिगा र सागा प्रिफेक्चरमा यो दर ९० प्रतिशतभन्दा माथि छ । खोपको दोस्रो मात्रा पनि लगाएको संख्या २ करोड ६४ लाख ४० हजार रहेको छ ।

गिफुु प्रिफेक्चरमा दोस्रो मात्रा पनि लगाउनेको अनुपात सबैभन्दा धेरै ८५ प्रतिशत छ । अन्य ६ प्रिफेक्चरमा यो दर ८० प्रतिशत माथि छ । खोप लगाउन चाहनेहरुलाई खोप लगाएर भ्याउने आफूहरुको लक्ष्य पूरा भएको शुक्रबार अबेर आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री योशिहिदे सुगाले बताएका थिए । ६४ वर्ष भन्दा कम उमेरमा खोप दर पहिलो मात्राको लागि १३ प्रतिशत र दोस्रो मात्राको लागि ४ प्रतिशत रहेको योमिउरी शिम्बुनले संकलन गरेको तथ्यांकले देखाएको छ ।

अन्य देशको तुलनामा वृद्धवृद्धाहरुलाई खोप लगाउने कार्यक्रम राम्रोसाग अगाडि बढेको इन्टरनेशनल यूनिभर्सिटी अफ हेल्थ एण्ड वेलफेयरमा प्राध्यापक रहेको कोजी वाडा बताउँछन् । यसको प्रभाव वृद्धवृद्धामा घटेको संक्रमणमा छर्लङ्ग देखिएको उनको भनाइ छ । ६४ वर्ष भन्दा कम उमेर समूहमा पनि ४० देखि ६४ वर्षबीच कोभिडका गम्भीर बिरामीको संख्या बढेकोले खोप कार्यक्रमलाई तीव्रता दिन जरुरी भएको बताइएको छ । यो उमेर समूहले पनि खोप लगायो भने युवा पुस्ता खोप लगाउने इच्छुक हुने विश्वास वाडाले व्यक्त गरेका छन् ।