टोकियो, जापान ।
फ्रान्सेली फर्मास्युटिकल कम्पनी सानोफीले जापानमा आफूले बनाइरहेको कोरोना भाइरस विरोधी खोपको अन्तिम चरणको क्लिनिकल परीक्षण शुरु गरेको छ ।
तेस्रो चरणको यस क्लिनिकल अध्ययनले सम्भावित खोप जापानमा प्रयोग गर्दा सुरक्षित छ कि छैन र खोप कत्तिको प्रभावकारी छ भन्ने मूल्यांकन गर्नेछ । कम्पनीले गरेको विश्वव्यापी अध्ययनमा अमेरिका र अन्य केही देशबाट करीब ३५ हजार स्वयम् सेवकहरु सहभागी भएका थिए । जापानमा अध्ययन भइरहेका साइटमध्ये पाँच ओटा मेडिकल संस्था पनि रहेका छन् ।
सानोफीले रिकम्बिनेन्ट प्रोटिनयुक्त खोप बनाइरहेको छ । यसमा भाइरसको सतहमा पाइएकै खालको प्रोटिन हुन्छ । खोपमा रहेको सो प्रोटिन जेनेटिक रिकम्बिनेशन प्रविधिमार्फत कृत्रिम रुपमा प्रयोगशालामा बनाइएको हो । खोप लगाएपछि शरीरमा भाइरससँग लड्ने एन्टीबडिज उत्पादन हुन्छ ।
तेस्रो चरणको यस परीक्षणमा दुई तहको पद्दति अपनाइएको छ । अध्ययनमा शुरुमा खोपको फर्मुला कोरोना भाइरसको मौलिक प्रकारविरुद्ध कतिको प्रभावकारी छ भन्ने कुराको अध्ययन गरिनेछ ।
त्यसपछि भने दक्षिण कोरियामा पहिलो पटक फेला परेको बेटा भ्यारिएन्टलाई लक्षित गरेर दोस्रो फर्मुलाको परीक्षण गरिनेछ । क्लिनिकल परीक्षणको नतिजाका आधारमा आफूले जापानमा खोप प्रयोगको अनुमति मागेर आवेदन दिने सानोफीको भनाइ छ । सरकारबाट प्रयोगका लागि अनुमति मिलेपछि कम्पनीले मध्य जापानको गिफु प्रिफेक्चरमा रहेको कारखानामा खोपको उत्पादन थाल्ने योजना पनि बनाएको छ । सम्भव भएसम्म छिटै खोप डेलिभरीका लागि तयारी गर्न सकियोस् भनेर कम्पनीले खोप उत्पादनको तयारी पनि थाल्ने भएको छ ।