टोकियो, जापान ।
जापानमा कोरोना भाइरसको संक्रमण भएर निको भएका बिरामीहरुमा दीर्घकालीन प्रभाव भेटिएको छ । जापानी अनुसन्धान समितिको अन्तरिम नतिजाले यस्तो देखाएको हो । अनुसन्धानका क्रममा कोभिड-१९ निको भएपछि पनि ६ महीना वा सो भन्दा बढी समयसम्म मानिसहरुमा थकान, कपाल झर्ने र अन्य लक्षणहरु देखिएको छ । स्वास्थ्य मन्त्रालयका तीन अध्ययन समूहले सो अनुसन्धान गरेका हुन् ।
केइओ विश्वविद्यालयका प्राध्यापक फुकुनागा कोइची संलग्न एक समूहले कोरोनाका कारण अस्पतालमा भर्ती भएका २४६ जनालाई निको भएको ६ महीनापछि कुनै लक्षण देखिएको छ कि भनेर प्रश्न सोधेका थिए । यस क्रममा करीब ८० प्रतिशत उत्तरदाताले आफ्नो स्वास्थ्य अवस्था संक्रमण हुनु अघिको तुलनामा राम्रो भएको बताए । २१ प्रतिशतमा थकान, १३ प्रतिशतमा स्वास फेर्न गाह्रो अनि ११ प्रतिशतमा निद्रामा समस्या अनि प्रतिशतमा कपाल झर्ने समस्या भएको पाइयो ।
खानाजावा मेडिकल यूनिभर्सिटीमा प्राध्यापक रहेको मिवा ताकाकी संलग्न अर्को समूहले पनि अस्पताल भर्ती भएका ६० वर्ष मुनिका कोभिड लागेर निको भएका वा सेल्फ आइसोलेशनमा बसेका २५१ जनामाझ सर्वेक्षण गरेको थियो । यिनीहरुमध्ये ३७ प्रतिशतले सुँघ्ने क्षमता र स्वाद दुबै असामान्य महसुस भएको बताए । २० प्रतिशतमा सुँघ्ने क्षमतामा असमान्यता देखियो । ४ प्रतिशतको स्वादमा समस्या उत्पन्न भयो ।
सो समूहले अस्पतालबाट डिस्चार्ज भएको वा सेल्फ–आइशोलेशनमा बसेको एक महीनापछि फलो–अप सर्वेक्षण गरेको थियो । यस क्रममा सुघ्ने क्षमतामा सुधार आएको ६० प्रतिशत उत्तरदाताले बताए । ८४ प्रतिशतको भने स्वादमा पनि सुधार आएको पाइयो ।