टोकियो, जापान ।
जापानमा गलत तरिकाले राखिएका कारण प्रयोग गर्न नमिल्ने भएका कोरोना भाइरस विरोधी खोपका ७ हजार भन्दा बढी मात्रा नष्ट गरिएको छ । आइतबार योमिउरी पत्रिकाले यसबारे समाचार छापेको हो ।
कोरोना भाइरसको संक्रमणको चौथो लहर नियन्त्रण गर्न खोप लगाउने हतारमा सरकार रहेकै बेलामा खोपका ती मात्रा नष्ट गर्नु परेको हो । सामान्य तापक्रममा राखिएपछि प्रयोग गर्न नमिल्ने भएको हजार-हजार मात्रा एक अस्पताल र बृहत खोप केन्द्रले नष्ट गर्नु परेको थियो । टोकियोको एक वडामा भने ओभर–डिल्यूशनका कारण १२ मात्रा खेर गएको छ ।
अव्यवस्थापनको कारण यति अमूल्य खोप खेर फाल्नु परेकोप्रति आफूहरुलाई निकै पछुतो लागेको फुकुओका प्रिफेक्चरको ओमुता राष्ट्रिय अस्पतालले एक विज्ञप्तिमा भनेको छ । टोकियो ओलम्पिक्स शुरु हुन ५० दिन भन्दा पनि कम समय बाँकी छ । जापानले जनसंख्याको ९ प्रतिशतलाई मात्रै कम्तिमा एक मात्रा खोप लगाएको छ । विकसित अर्थतन्त्रमध्ये जापानको खोप अभियान सबैभन्दा पछाडि छ ।
जापानको राजधानी टोकियोले गत वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको ओलम्पिक्स यही जुलाई २३ देखि आयोजना गर्दैछ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण जापानमा टोकियो समेत अन्य नौं प्रिफेक्चरमा आपतकाल लगाइएको छ ।