(Japan) 28 th June | 2026 | Sunday | 4:19:58 AM || (Nepal) 1:04:58 AM
 
 

टोकियो र ओसाकामा एकसाथ धेरै व्यक्तिले खोप लगाउन सक्ने ठूला खोप केन्द्र खोलिंदै

  POSTED ON : Tuesday, 27 April, 2021 | Views : 3872

टोकियो र ओसाकामा एकसाथ धेरै व्यक्तिले खोप लगाउन सक्ने ठूला खोप केन्द्र खोलिंदै


टोकियो ।

जापान सरकारले टोकियो र ओसाकामा ठूलो खोप केन्द्रहरु खोल्ने योजना बनाइरहेको छ । खोप कार्यक्रमलाई तीव्र बढाउनका लागि आगामी हप्ताहरुमै त्यसो गरिने भन्दै स्थानीय सञ्चार माध्यमहरुले आइतबार समाचार छापेका हुन् ।

निक्केईका अनुसार सरकारले मध्य टोकियोमा छिटोमा मेमा खोप केन्द्र खोल्नेछ । यसमा एक दिनमै करीब १० हजार जनालाई खोप लगाउन मिल्नेछ । केन्द्र टोकियोमा काम गर्ने र बसोबास गर्ने जोकोहीका लागि खुला रहने पत्रिकाले बताएको छ । यस्ता केन्द्रहरुमा जापानको आत्मरक्षा बलका तालिम प्राप्त कर्मचारीहरुले खोप लगाउन सघाउनेछन् । जापानले विश्वका अन्य कयौं देशमा देखा परेको जस्तो विष्फोटक संक्रमण टार्न सकेको भएपनि सुस्त खोप कार्यक्रमका लागि सरकारले निकै आलोचनाको सामना गर्नु परेको छ ।

अहिले जापानका करीब १ प्रतिशत जनसंख्यालाई मात्रै खोप लगाइएको छ । हालैका दिनमा संक्रामक भाइरसको संक्रमणमा भएको वृद्धिका कारण सतर्कता बढेको छ र केही क्षेत्रमा स्वास्थ्य कर्मचारी र अस्पतालमा शैयाको चरम अभाव छ । जापानले यसै महीना ६५ वर्ष वा सो भन्दा बढी उमेरका मानिसहरुका लागि खोप लगाउन शुरु गरेको छ । हिउँद वा सो भन्दा पनि पछाडि मात्रै सबै जनसंख्यालाई खोप लगाइने बताइएको छ ।

स्वास्थ्य मन्त्री नोरिहिसा तामुराले आइतबार सरकारले जुलाईको अन्त्यसम्ममा वृद्धवृद्धाहरलाई लगाउन पर्याप्त खोप सुनिश्चित गर्न सक्यो भने ६५ वर्ष भन्दा मुनिका जनसंख्यालाई सोही महीना खोप लगाउन शुरु गरिने बताएको भन्दै क्योदो न्यूजले समाचार छापेको थियो । टोकियो ओलम्पिक्स शुरु हुन तीन महीना भन्दा कम समय बाँकी रहँदा जापानले आइतबारल देखि टोकियो, ओसाका र अन्य दुई प्रिफेक्चरमा आपतकाल लगाएको छ ।