(Japan) 25 th August | 2026 | Tuesday | 2:24:51 PM || (Nepal) 11:09:51 AM
 
 


जापानको कुमामोतोमा शक्तिशाली भूकम्पबाट ७० बढी घाइते, केहि सम्पर्क बिहिन विद्युत, सडक, रेल र हवाई उडान प्रभावित

  POSTED ON : Wednesday, 29 July, 2026 | Views : 304

जापानको कुमामोतोमा शक्तिशाली भूकम्पबाट ७० बढी घाइते, केहि सम्पर्क बिहिन विद्युत, सडक, रेल र हवाई उडान प्रभावित


टोकियो, जापान ।

जापानको दक्षिणी कुमामोतो प्रान्तमा मंगलबार दिउँसो गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा ७० जना घाइते भएका छन् । हजारौं घरमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने सडक, पुल, रेल सेवा र हवाई यातायातमा व्यापक असर परेको छ ।

जापानी प्रधानमन्त्री सानाए ताकाइचीले पत्रकार सम्मेलनमा घाइते तथा क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेको बताइन् । उनका अनुसार केही क्षेत्रमा आगलागी, भवन भत्किने, सडक तथा पुलमा क्षति पुगेको छ ।

जापानी सार्वजनिक प्रसारक एनएचकेका अनुसार एक अस्पतालमा मात्रै ५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ । भूकम्पका बेला गुडिरहेको शिन्कान्सेन (बुलेट ट्रेन) मा रहेका केही यात्रु पनि घाइते भएका छन् ।

कुमामोतोस्थित एअन मलमा विस्फोट भएको र भवनको केही भाग क्षतिग्रस्त भएको जनाइएको छ । विभिन्न स्थानमा भवनमा आगलागी तथा आंशिक रूपमा भवन भत्किएको दृश्य सार्वजनिक भएका छन् ।

भूकम्पका कारण प्रमुख राजमार्गहरूमा ठूलो चिरा परेको, एक मालवाहक रेल पटरीबाट उत्रिएको तथा जेआर क्युशुले शिन्कान्सेनसहित सबै रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। कुमामोतो विमानस्थल पनि बन्द गरिएकाले धेरै उडान रद्द तथा अन्यत्र मोडिएका छन् ।

विश्वकै सबैभन्दा ठूलो सेमिकन्डक्टर ठेक्का निर्माता TSMC ले कुमामोतोस्थित कारखानाबाट कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारेर सुरक्षा जाँच थालेको छ। Sony र Fujifilm ले पनि आफ्ना कर्मचारीहरूलाई कारखानाबाट बाहिर निकालेका छन्।


जापानको विपद् व्यवस्थापन निकायका अनुसार १ लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। जापान मौसम विज्ञान एजेन्सीले आगामी करिब एक सातासम्म थप शक्तिशाली परकम्प आउन सक्ने तथा पहिरोको जोखिम रहने चेतावनी दिएको छ।

सुरुआतमा १ मिटर उचाइसम्मको सुनामीको चेतावनी जारी गरिए पनि पछि त्यसलाई हटाइएको थियो। भूकम्पका कारण क्युशु इलेक्ट्रिक पावरका अनुसार करिब ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। 

यद्यपि, जापानको आणविक नियमन प्राधिकरणले प्रभावित क्षेत्रमा रहेका कुनै पनि आणविक विद्युत् केन्द्रमा असामान्य अवस्था नदेखिएको जनाएको छ।

उल्लेखनीय छ, सन् २०१६ मा कुमामोतोमा गएको विनाशकारी भूकम्पमा २७५ जनाको मृत्यु भएको थियो भने हजारौं भवन क्षतिग्रस्त भएका थिए। यसपटकको भूकम्पले पनि ऐतिहासिक कुमामोतो किल्लाका केही ढुंगे पर्खालहरूमा क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन्।