टोकियो, जापान ।
जापानको कुमामोतो प्रिफेक्चरमा मंगलबार अपराह्न शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार अपराह्न ४ः२७ बजे आएको भूकम्पमा उकी सहर र हिकावा नगरमा जापानी भूकम्प मापन प्रणालीको अधिकतम शिन्दो–७ को कम्पन महसुस गरिएको छ ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु कुमामोतो प्रिफेक्चरको मध्य भाग रहेको छ । यसको गहिराइ करिब १० किलोमिटर रहेको तथा प्रारम्भिक अनुमान अनुसार म्याग्निच्युड ७.१ मापन गरिएको छ ।
भूकम्पका कारण कुमामोतोका विभिन्न क्षेत्रमा पनि अत्यधिक शक्तिशाली कम्पन महसुस गरिएको छ।
भूकम्पपछि अरिआके सागर र यत्सुशिरो सागर क्षेत्रमा सुनामी सतर्कता जारी गरिएको छ । तटीय क्षेत्रका बासिन्दालाई समुद्र किनारबाट टाढा सुरक्षित स्थानमा जान र सरकारी निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
हालसम्म मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन । जापानी अधिकारीहरूले स्थिति नजिकबाट निगरानी गरिरहेका छन् र पराकम्प आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्
विस्तृत विवरण आउनेक्रममा रहेको छ ।