टोकियो, जापान ।
जापानको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को उपचारमा तेस्रो औषधिलाई प्रयोगको अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयको एक समितिले बुधबार रुमाटोइड आर्थिरिट्स औषधि बारिक्टिनिबलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने अनुमति दिएको हो ।
अमेरिकी फर्मा समूह इली लिली एण्ड कम्पनीको जापानी एकाई डिसेम्बरमा अनुमति माग्दै आवेदन दिएको थियो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले औषधिलाई एक महीनाभित्रै औपचारिक रुपमै मान्यता दिने अपेक्षा गरिएको छ ।
अमेरिकामा बारिक्टिनिबलाई रेम्देसिभिरसँग मिसाएर कोभिडको गम्भीर बिरामीमा प्रयोग गर्न अनुमति दिइएको छ । जापान सरकारले यस अघि नै अमेरिकी फर्मा कम्पनी गिलियाड साइन्सेज इंकको रेम्देसिभिर र स्टेराइड डेक्सामेथासोनलाई अनुमति दिइसकेको छ ।