टोकियो, जापान ।
जापानले अमेरिकी फर्मा कम्पनी फाइजर इंकबाट कोरोना भाइरस विरोधी खोपको थप ५ करोड डोज प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कम्पनीसँग आपूर्ति बढाउन अनुरोध गरेका थिए । अहिलेको सहमतिसँगै फाइजरले जापानलाई १४ करोड ४० लाख डोज खोप आपूर्ति गराउने छ । मोडेर्ना इंकले भने ५ करोड डोज उपलब्ध गराउनेछ । जापान करीब ११ करोड मानिसका लागि दुई डोज लगाउन पर्याप्त हुने खोप किन्ने क्रममा रहेको छ । सेप्टेम्बरको अन्त्यसम्ममा सबैका लागि पर्याप्त हुने गरी खोपको आपूर्ति हुने अपेक्षा सरकारको रहेको संसदको सत्रमा सुगाले दोहोर्याएका थिए ।
जापान आउने क्रममा कति खोप रहेको छ र यसका लागि जापानले कति तिर्नेछ भन्नेबारे भने सुगाले केही पनि बताएनन् । अमेरिका र बेलायतको तुलनामा जापानको खोप कार्यक्रम निकै पछाडि छ ।आफ्नै सुस्त अनुमति प्रक्रिया, बेल्जियमस्थित फाइजरको कारखानामा खोपको उत्पादनमा भएको ढिलाई र यूरोपेली संघको निर्यात नियन्त्रणका कारण जापानको खोप अभियान प्रभावित भएको हो ।
सोमबारसम्ममा १२ लाख स्वास्थ्य कामदार र ६५ वर्ष वा सो भन्दा माथिका १९ हजार जनाले कम्तिमा पनि खोपको एक मात्रा लगाएको सरकारी तथ्यांकले देखाएको छ । यो जापानको कूल जनसंख्याको करीब १ प्रतिशत हो । वृद्धवृद्धाहरुलाई खोप यो वर्षको अन्त्यसम्म पनि लगाएर नभ्याउने सत्तारुढ दलका एक वरिष्ठ सदस्यको दाबी सुगाले अस्वीकार गरेका छन् ।
सरकारले यस्तो जानकारी नगरपालिकाहरुबाट नपाएको उनले बताए । ६५ वर्ष माथिका जनसंख्यालाई खोप लगाइसकेपछि मधुमेहलगायत दीर्घरोग भएका बिरामीहरु र वृद्धवृद्धाहरुको हेरचाह गृहमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई खोप लगाइनेछ । त्यसपछि मात्रै बाँकी जनसंख्यालाई खोप लगाइनेछ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म फाइजरको खोपलाई मात्रै प्रयोगको अनुमति दिएको छ । मोडेर्नाको खोपलाई छिटोमा आगामी महीना अनुमति दिइने अपेक्षा गरिएको छ ।