(Japan) 28 th June | 2026 | Sunday | 4:20:35 AM || (Nepal) 1:05:35 AM
 
 

जापान फाइजर बाहेक अन्य खोपलाई अनुमति दिन अझै अनिच्छुक, तर किन ?

  POSTED ON : Thursday, 22 April, 2021 | Views : 2694

जापान फाइजर बाहेक अन्य खोपलाई अनुमति दिन अझै अनिच्छुक, तर किन ?


टोकियो, जापान ।

जापान सरकार बेलायती फर्मा कम्पनी अस्त्रजेनेका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड-१९ विरोधी खोपलाई अनुमति दिन अझै पनि तयार भइसकेको छैन ।

खोपमा समस्या देखिएपछि अन्य देशहरुले यसको प्रयोगमा प्रतिबन्ध लगाउने वा प्रयोग स्थगित गर्ने निर्णय गरिसकेका छन् । अस्त्रजेनेकाको खोपको जापानमा तत्कालै व्यवहारिक प्रयोगको कुनै सम्भावना नरहेकोले जापानी प्रधानमन्त्री योशिहिदे सुगाले अमेरिकी फर्मा कम्पनी फाइजरसँग खोपको आपूर्ति बढाउन सहमति गरेका थिए । अस्त्रजेनेकाले आफ्नो खोप प्रयोगका अनुमति माग्दै दिएको आवेदन अहिले पनि स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयमा समीक्षाका क्रममा रहेको छ ।

विदेशमा अस्त्रजेनेकाको खोप लगाएपछि र’गत जम्ने समस्या देखिएपछि कयौं देशहरुले यसको प्रयोगमा रोक लगाएका थिए । जापानभर खोपको आपूर्ति व्यापक नहुने सम्भावनाबीच सरकारले फाइजरको खोपको आपूर्ति बढाउनतर्फ हतारो गरेको छ । सरकारले यस अघि नै फाइजर, अस्त्रजेनेका र अमेरिकी फर्मा कम्पनी मोडेर्नासँग खोपको क्रमशः १४ करोड ४० लाख डोज, १२ करोड डोज र ५ करोड डोजका लागि सम्झौता गरेको छ । यी तीनओटै कम्पनीको खोप दुई मात्रामा लगाउनु पर्दछ । जापानमा १६ वर्ष वा सो भन्दा बढी उमेरका करीब ११ करोड मानिसहरु छन् यसको अर्थ जापानलाई कम्तिमा पनि २२ करोड डोज खोप चाहिन्छ ।

यी तीनओटै कम्पनीको खोपलाई अनुमति दिइने अनुमानमा खोपको यति डोज पर्याप्त हुने सोचिएको थियो । तर अस्त्रजेनेकाको खोपमा समस्या देखिएपछि अवस्था फेरिएको छ ।