टोकियो, जापान ।
वैज्ञानिकहरुको एक समूहले एउटै परीक्षणमा कोरोना भाइरसको सय भन्दा धेरै म्युटेशन पत्ता लगाउन प्रविधिको विकास गरेका छन् । तोहो विश्वविद्यालयका प्राध्यापक संक्रामक रोग विज्ञ तातेदा खाजुहिरो समेतको समूहले सो प्रविधि विकास गरेका हुन् ।
पाई कोड मेथड नाम दिइएको यस प्रविधिले शून्य दशमलव शून्य ४ मिलिमिटरको डिस्कको प्रयोग गर्दछ । जसको सतहमा बार्कोड जस्तो प्याटर्न हुन्छ ।
डिस्कमा जिनसँग अन्तक्रिया गर्दा प्रकाश उत्सर्जन गर्ने रिएजेन्ट लगाइएको हुन्छ । यो भाइरसको नमूनासँग मिसिन्छ । फरक फरक म्युटेशनमा फरक तरिकाले प्रतिक्रिया देखाउन बहु डिस्कको प्रयोग गरिने भएकोले सैद्धान्तिकरुपमा एउटा नमूनाले सयभन्दा धेरै प्रकारका म्युटेशन चेक गर्न सक्ने समूहको दाबी छ ।
प्रकाश उत्सर्जन गरेको डिस्कको पहिचान स्वतः गर्न विशेष उपकरणले बार्कोडको प्याटर्न पढ्दछ । यसले वैज्ञानिकहरुलाई नमूनामा रहेको म्युटेशशन पहिचान गर्ने अनुमति दिन्छ । यो नमूनालाई बेलायत, दक्षिण अफ्रिका र अन्य सबै खालका भ्यारिएन्टको पहिचानमा प्रयोग गर्न सकिने समेत दाबी गरिएको छ ।
कोरोना भाइरसको म्युटेशन थप जटिल बन्न सक्ने भएकोले तत्कालै ठूलो संख्यामा भ्यारिएन्टहरुको पहिचान गर्न जरुरी भएको तातेदाले बताए ।
यस्तो खालको अवस्थाका लागि तयार रहन यस्तो प्रविधिको विकास जरुरी रहेको उनको भनाइ छ ।