टोकियो, जापान ।
सरकारी तथ्यांक अनुसार जापानमा करीब १५ हजार वृद्धवृद्धाहरुले कोरोना भाइरस विरोधी खोप लगाएका छन् । तर स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको भन्दा दोब्बर धेरै व्यक्तिले खोप लगाएको क्योदो न्यूजले गरेको सर्वेक्षणले देखाएको छ ।
यस विसंगतिले देशभर खोप लगाइएको तथ्यांक संकलन र व्यवस्थापन गर्न भनेर सरकारले गत सोमबारदेखि शुरु गरेको नयाँ डिजिटलाइज्ड प्रणाली खोप रेकर्ड प्रणाली (भिआरएस)को क्षमतामाथि नै प्रश्न उब्जाएको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार ३ करोड ६० लाख वृद्धहरुलाई खोप लगाउन शुरु भएदेखि अहिलेसम्म जापानभर ६ हजार ७०० वृद्धवृद्धाहरुले खोप लगाएको बताएको थियो । तर शुक्रबार क्योदो न्यूजले गरेको सर्वेक्षणमा भने देशभर १४ हजार ९९४ जनाले खोप लगाएको पाइयो । धेरैजसो नगरपालिकाहरुले वृद्धहरुलाई लगाइएको खोपको उचित तवरले रेकर्ड राख्न नसकेकोले यो संख्या अझै धेरै हुन सक्ने सम्भावना छ ।
भिआरएस अन्तर्गत केन्द्र सरकारले स्थानीय सरकारका अधिकारीहरुलाई व्यक्तिले लगाएको खोप र उनीहरुको व्यक्तिगत जानकारी रियल–टाइममा रेकर्ड गर्न भनेको छ ।
यसमा खोप लगाउने टिकटमा भएको बारकोड पनि स्क्यान गरिएको हुन्छ । तर केही अवस्थामा अधिकारीहरुले रियल टाइममा डेटा प्रविष्ट नगराएकोले प्रणालीमा देखिने डेटा र वास्तविक डेटामा निकै अन्तर हुने मन्त्री परिषद्का सचिवालयका एक अधिकारीले भने ।
क्योदो न्यूजले ५० हजार वृद्धवृद्धाका लागि खोपको पहिलो खेप उपलब्ध गराएका १४८ नगरमा सो सर्वेक्षण गरेको थियो । सर्वेक्षण अनुसार ६३ ओटा नगरपालिकाले आफू आफ्नो क्षेत्रमा खोप लगाइएका व्यक्तिको संख्याबारे जानकार नरहेको वा योग्य बासिन्दालाई खोप लगाउन शुरु नै नभएको बताए ।
अमेरिकी फर्मा कम्पनी फाइजर इंकले सेप्टेम्बरको अन्त्यसम्मा १६ वर्षभन्दा माथिका सबै योग्य बासिन्दालाई खोप लगाउन पुग्ने गरी जापानमा खोपको आपूर्ति बढाउने खोप मन्त्री तारो कोनोले आइतबार बताएका थिए । खोप कार्यक्रमको मामिलामा जापान अमेरिका र बेलायतभनदा निकै पछाडि छ । सर्वेक्षणमा कम्तिमा पनि १० नगरपालिकाले भने वृद्धवृद्धाका लागि भनेर आएको खोप स्वास्थ्यकर्मीहरुलाई लगाएका बताएका छन् ।
अन्तिम क्षणमा रद्द गर्नु पर्दा केहीले भने खोप नै खेर फालेको पनि सर्वेक्षणमा पाइएको छ । वृद्धवृद्धाहरुलाई लगाएपछि मधुमेह लगायत दीर्घ रोग भएका र वृद्धवृद्धाहरुको हेरचाह केन्द्रमा काम गर्नेहरुलाई खोप लगाइनेछ । त्यसपछि मात्रै बाँकी जनसंख्यालाई खोप दिइनेछ ।