टोकियो, जापान ।
टोकियोको कोरोना भाइरस एन्टिबडी सकारात्मकता दर १.३५ प्रतिशत पाइएको छ ।
जापानको सरकारी सर्वेक्षणले गत डिसेम्बर महिनामा गरेको सर्वेक्षणले टोकियोमा कोरोना भाइरस एन्टिबडी प्रतिशत १.३५ प्रतिशत देखाएको हो ।
सर्वेक्षणमा ओसाका, मियागी, आइची र फुकुओका क्षेत्रहरुमा एक प्रतिशत भन्दा कम एन्टिबडी दर देखाएको छ ।
एन्टिबडीहरू भाइरल संक्रमण पछि उत्पादित रगत प्रोटीनको एक प्रकार हो । रगतमा तिनीहरूको उपस्थितिले विगतको संक्रमण अवस्था देखाउँछ ।
स्वास्थ्य मन्त्रालयले टोकियो र ४७ प्रान्तहरुमा २० वा सो भन्दा बढि उमेरका करीव १५,००० व्यक्तिको परीक्षण गरेको थियो ।
मंगलबार जारी गरिएको नतिजामा टोकियोको एन्टिबडी दर १.३५ प्रतिशत देखाइएको छ ।
एन्टिबडी दर आइची प्रान्तमा ०.७१ प्रतिशत, ओसाका प्रान्तमा ०.६९ प्रतिशत, फुकुओका प्रान्तमा ०.४२ प्रतिशत र मियागी प्रान्तमा ०.१४ प्रतिशत पाइएको छ ।
मन्त्रालयका अधिकारीहरूले सर्वेक्षणबाट धेरै व्यक्तिहरूको एन्टिबडी तयार नभएको पाईएको बताएका छन् । अधिकारीहरुले युरोपियन देशहरू र अमेरिकाको तुलनामा जापानमा एन्टिबडी दर कम रहेको जानकारी दिएका छन् । एन्टिबडी दर कम हुँदा संक्रमण फैलने जोखिम बढी हुने हुँदा कोरोना भाइरस प्रतिरोधी उपायहरुलाई अझै कडाईका साथ पालना गर्न आग्रह गरिएको छ ।
अन्तर्राष्ट्रिय विवरणहरु अनुसार अमेरिकाको वासिंगटन डिसीमा १० प्रतिशत, बेलायतको लण्डनमा करिव १३ प्रतिशत, चीनको बेईजिगंमा करिव ३ प्रतिशत, दक्षिण कोरियाको सोलमा ०.१४ प्रतिशत, इटाली २.५ प्रतिशत, जर्मनी १४ प्रतिशत तथा फ्रान्समा १३.६ प्रतिशत एन्टिबडी तयार भइसकेको छ ।