(Japan) 28 th June | 2026 | Sunday | 4:17:40 AM || (Nepal) 1:02:40 AM
 
 

सामान्य र आपतकालिन दुई अवस्थाको स्वास्थ्य सेवा बनाउन जापान सरकारको आग्रह

  POSTED ON : Friday, 26 March, 2021 | Views : 5670

सामान्य र आपतकालिन दुई अवस्थाको स्वास्थ्य सेवा बनाउन जापान सरकारको आग्रह


टोकियो, जापान ।

जापानको स्वास्थ्य मन्त्रालयले प्रिफेक्चरल सरकार र अन्य संस्थाहरुलाई दुई चरणको स्वास्थ्य हेरचाह प्रणालीको स्थापना गर्न अनुरोध गरेको छ । कोरोना भाइरसको अर्को चरणको संक्रमणका लागि तयारी अन्तर्गत सो स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सो अनुरोध गरेको हो ।

मन्त्रालयले बुधबार उनीहरुलाई सामान्य र आपतकालीन दुबै अवस्थालाई हेर्न सकिने गरी स्वास्थ्य सेवा प्रणाली स्थापना गर्न अनुरोध गरेको हो । यस्तो भएमा संक्रमण ह्वात्तै बढ्यो भने पनि अस्थायी रुपमा आपतकालीन प्रणाली अपनाएर अस्पतालहरुमा शैयाको व्यवस्था गर्न सकिन्छ ।

कोरोना भाइरसको संक्रामक प्रकारका फैलिने अनुमानमा यसको खाँका अप्रिलको अन्त्यसम्म कोरिसक्न भनिएको छ । कोभिड–१९ का बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएर ठूलो संख्यामा अस्पतालमा शैया चाहियो भने अत्यन्त जरुरीबाहेक अन्य शल्यक्रिया र अस्पतालमा भर्तीलाई रोकेर सामान्य स्वास्थ्य सेवालाई अस्थायी रुपमा प्रतिबन्ध लगाउन सकिने मन्त्रालयको भनाइ छ ।

गम्भीर रुपमा बिरामी भएर पनि अस्पतालमा भर्ती गर्न नसकिने अवस्थाका लागि तयार रहन मन्त्रालयले घरमै बसेर उपचार गराइने बिरामीको लागि स्वास्थ्य निगरानी प्रणाली मजबूत बनाउन पनि मन्त्रालयले अनुरोध गरेको छ । अस्पताल भर्ती र अस्पताल स्थानान्तरणमा सहकार्य गर्न प्रिफेक्चर र जनस्वास्थ्य केन्द्रहरुलाई कर्मचारी टेवा दिनेबारे पनि विचार गरिनेछ ।

सामान्य अवस्थाको सञ्चालन प्रणालीको समीक्षा मेसम्ममा गरिनेछ । मन्त्रालयले हरेक क्षेत्रमा कोभिड–१९ का बिरामीका लागि शैयाको संख्या थप बढाएर सामान्य स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरुबीच भूमिका बाँटफाँटको पनि अध्ययन गर्नेछ ।

स्थानीय सरकार र स्वास्थ्य संस्थाहरुले राम्ररी सहकार्य गर्न नसक्दा कोभिड–१९ को तेस्रो चरणको संक्रमणका बेलामा अस्पतालहरुमा भएका शैयाको उच्चतम् प्रयोग प्रभावकारी रुपमा हुन नसकेको कयौं अवस्था देखिएका थिए । यस्तो अवस्था आउन नदिन अस्पतालमा भर्ती हुन वा अन्य अस्पतालमा स्थानान्तरण कुरिरहेका बिरामीको संख्या नियमित रुपमा चेक गरिनेछ ।