टोकियो, जापान ।
जापानी येन अमेरिकी डलरसँगको विनिमय दरमा थप कमजोर हुँदै एक अमेरिकी डलर १६३ जापानी येन नाघेको छ। यो स्तर सन् १९८६ यताकै सबैभन्दा कमजोर विनिमय दर मानिएको छ।
बुधवार बिहान टोकियो बजार खुल्नुअघि येन करिब १६३.२३ प्रति डलर मा कारोबार भएको थियो । यसअघि जुन महिनाको सुरुदेखि नै येन लगातार १६० भन्दा माथि कारोबार हुँदै आएको थियो भने जुलाईभर अधिकांश समय १६२ भन्दा माथि कायम रहेको थियो।
जापान सरकारले हालसम्म येनलाई बलियो बनाउन ठोस हस्तक्षेप नगरेको र मौखिक चेतावनी मात्र दिएको कारण बजारमा सरकारले कमजोर येनप्रति पहिलेभन्दा बढी सहिष्णुता देखाइरहेको चर्चा सुरु भएको छ ।
केही लगानीकर्ताले अब १६५ प्रति डलर पुगेपछि मात्र जापान सरकारले मुद्रा बजारमा हस्तक्षेप गर्न सक्ने अनुमान गरेका छन् । ब्लुमबर्गले उद्धृत गरेका एक प्राविधिक विश्लेषकले भने आगामी वर्ष येन १७० प्रति डलर सम्म कमजोर हुन सक्ने प्रक्षेपण गरेका छन् ।
यद्यपि जापानकी अर्थमन्त्री सात्सुकी कातायामाले सरकारले आवश्यक परे “निर्णायक कदम चाल्न तयार रहेको” चेतावनी दिएकी छन् ।
विश्लेषकहरूका अनुसार प्रधानमन्त्री सानाए ताकाइचीले कर कटौती र सरकारी खर्च बढाउने सम्भावित नीतिले पनि येनमाथि थप दबाब सिर्जना गरेको छ ।
यसअघि जापान सरकारले अप्रिल र मे महिनामा येनलाई समर्थन गर्न करिब ७३.६ अर्ब अमेरिकी डलर बराबरको ऐतिहासिक हस्तक्षेप गरेको थियो । तर धेरै लगानीकर्ताले त्यस्ता हस्तक्षेपले बजारमा केवल छोटो समयका लागि मात्र प्रभाव पार्ने विश्वास गरेका छन् ।
येन कमजोर हुनुको मुख्य कारण जापान र अमेरिकाबीचको ब्याजदरको ठूलो अन्तर पनि हो । जापानको केन्द्रीय बैंकले जुन १६ मा आफ्नो नीतिगत ब्याजदर १ प्रतिशत पुर्याए पनि अमेरिकाको फेडरल रिजर्भ को ब्याजदर ३.५० देखि ३.७५ प्रतिशत रहेकाले लगानीकर्ताहरू अझै डलरतर्फ आकर्षित भइरहेका छन् ।