टोकियो, जापान ।
जापानमा कोरोना भाइरस विरोधी खोप लगाएका मध्ये थप १२ जनामा गम्भीर एलर्जी देखिएको छ । स्वास्थ्य मन्त्रालयले बिहिबार बताए अनुसार २० देखि ५९ वर्ष उमेरबीचका १२ जना पुरुष र महिला स्वास्थ्यकर्मीमा अमेरिकी फर्मा कम्पनी फाइजरको खोप लगाएपछि एनफलक्सस देखिएको हो ।
यिनीहरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने र डाबर देखिने लगायत समस्या देखिएको स्वास्थ्य संस्थाहरुले बताएका छन् । यी समस्या खोप लगाएको करीब ४० मिनेट वा सो भन्दा कम समयपछि देखिन थालेको बताइएको छ ।
एनफलक्सस देखा परेका १२ मध्ये ७ जनामा औषधि वा खानेकुराको एलर्जी थियो । यिनीहरु सबै निको हुने अपेक्षा गरिएको छ ।
जापानमा बिहिबार साँझ ५ बजेसम्म कूल १ लाख ८० हजार ७४१ स्वास्थ्यकर्मीहरुलाई खोप लगाइएको छ । यीमध्ये ३७ जनामा एनफलक्सस देखिएको हो । यो भनेको ४ हजार ९०० मा एक जनालाई हो । स्वास्थ्य मन्त्रालयले यो समस्याबारे शुक्रबार बस्ने विज्ञहरुको समितिको बैठकमा छलफल गर्दैछ ।