टोकियो, जापान ।
जापान सरकारले कोभिड–१९ नियन्त्रणमा खोप अभियानलाई महत्वपूर्ण मानेको छ । स्वास्थ्य मन्त्रालयले छिटोमा मेमा कोरोना भाइरसको संक्रमण विरोधी दोस्रो खोपलाई प्रयोगको अनुमति दिन सक्ने यहाँका स्वास्थ्य मन्त्रीले आइतबार बताएका हुन् ।
‘फर्मा कम्पनीलाई छिटोमा मे वा जुनमा अनुमति दिन सक्ने सम्भावना छ,’ स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री नोरिहिसा तामुराले एक टिभी कार्यक्रममा भने । जापानमा प्रयोगको अनुमति पाउने अमेरिकी फर्मा कम्पनी फाइजरको खोप पहिलो थियो । सरकारले फेब्रुअरीमा खोपलाई अनुमति दिएको थियो ।
फेब्रुअरीको शुरुमा बेलायती फर्मा कम्पनी अस्त्रजेनेकाले पनि आफ्नो खोपलाई प्रयोगको अनुमति माग्दै आवेदन दिएको छ । जापानी फर्मा कम्पनी ताकेदाले पनि अमेरिकी बायोप्रविधि कम्पनी मोडेर्ना इंकको खोपका लागि गत शुक्रबार अनुमतिका लागि आवेदन दिएको छ ।
जापानले यी तीन कम्पनीहरुसँग खोपका कूल ३१ करोड ४० लाख डोजका लागि सम्झौता गरेको छ । यो खोप १५ करोड ७० लाख जनालाई लगाउन पर्याप्त हुनेछ । जापानको जनसंख्या करीब १२ करोड ६० लाख रहेको छ । महामारी सकेसम्म छिटै नियन्त्रणमा ल्याउन खोप निर्णायक चरण भएको प्रधानमन्त्री योशिहिदे सुगाले बारम्बार बताइरहेका छन् ।
कम्पनीले आवेदन दियो भने सरकारले अमेरिकी फर्मा कम्पनी जोन्सन एण्ड जोन्सनको एक डोज मात्रै लगाए पुग्ने खोपको लागि समेत विचार गर्न तयार रहेको तामुराको भनाइ छ । यद्यपि, कम्पनीको खोप किन्ने कि नकिन्ने भन्नेबारे भने अझै पनि निर्णय भइसकेको छैन । यो छलफलको चरणमा नै छ ।