टोकियो, जापान ।
ताकेदा फार्मास्यूटिकल कम्पनीले शुक्रबार जापानको स्वास्थ्य मन्त्रालयमा अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडर्ना इंकको कोभिड-१९ खोपको स्वीकृतिका लागि अनुरोध गरेको छ ।
यो जापानमा कोरोना खोपको नियामक स्वीकृतिको लागि तेस्रो आवेदन हो । जुन अमेरिकाको फार्मास्युटिकल जायन्ट फाइजर इंक र बेलायतको एस्ट्राजेनेका पीएलसी पछिको हो ।
जापानमा क्लिनिकल अध्ययन, आयात र खोप वितरणका लागि ताकेदा फर्मास्युटिकल मोडर्नाको पार्टनर हो । उसैले शुक्रबार खोप स्विकृतीको अनुरोध गर्दै स्वास्थ्य मन्त्रालयमा निवेदन पेश गरेको बताएको छ ।
जापान सरकारसँगको सम्झौता अन्तर्गत ताकेदाले २ करोड ५० लाख व्यक्तिको लागि पर्याप्त मोडेर्ना खोपको ५ करोड डोज आपूर्ति गर्ने योजना बनाएको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जापान र संयुक्त राज्य अमेरिकामा गरिएको क्लिनिकल अध्ययनबाट डाटा जाँच गरेर आवेदन प्रक्रिया स्विकार गर्ने अपेक्षा गरिएको छ ।
जापानमा गत महिनाबाट फ्रन्टलाइन स्वास्थ्य सेवाकर्मीहरूको लागि फाइजरको खोप लगाउन सुरु गरिएको छ । जापानले हालसम्म फाइजरको खोपलाई मात्र स्विकृती दिएको छ ।
मोडर्नाको खोप २८ दिनको बिचमा दुई मात्रा दिनुपर्दछ । यसलाई करीव माइनस २० डिग्रि तापक्रममा ६ महिनासम्म भण्डारण गरेर प्रयोग गर्न सकिन्छ । जुन भण्डारणका लागि फाईजर कम्पनीको भ्याक्सिन भन्दा धेरै सहज रहेको बताईन्छ । दीर्घकालीन भण्डारणको लागि माइनस ७५ सेन्टिग्रेडमा राख्नुपर्दछ ।
अमेरिका र यूरोपमा ३० हजार सहभागी माझ गरिएको क्लिनिकल अध्ययनमा मोडेर्नाको खोपको प्रभावकारीता ९४ दशमलव १ प्रतिशत पाइएको बताईन्छ ।
जापानले फाईजर, एस्ट्राजेनेका र मोडर्नासँग ३१ करोड ४० लाख डोज कोरोना भाइरस बिरुद्धको खोप खरिदका लागि सम्झौतामा हस्ताक्षर गरिसकेको छ । जुन १५ करोड ७० लाख मानिसलाई खोप लगाउन पर्याप्त हुनेछ । जापानको जनसंख्या केवल १२ करोड ६० लाख रहेको छ । अर्थात् यो भएको जनसंख्या भन्दा ३ करोड बढी जनसंख्याको लागि हो ।
जापानले कोरोना महामारीका कारण टोकियो ओलम्पिक र पाराओलम्पिक एक बर्ष स्थगित गरेर आगामी गर्मी मौसममा आयोजना गर्न संघर्ष गरिरहेको छ । राजधानी टोकियो लगायत मुख्य शहर क्षेत्रमा कोरोना भाइरस संक्रमण उच्च रहँदा शुक्रबार नै चार क्षेत्रमा आपतकाल दुई साताका लागि विस्तार गरिएको छ ।